सावित्राको उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला फाइनलमा

नेपाली राष्ट्रिय महिला फुटब टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को उत्कृष्ट प्रदर्शनमा गोकुलम केरला भारतमा जारी इन्डियन वुमन्स लिग (आईडब्लुएल) फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

गोल मेसिस सावित्राले दुई गोल गर्नुका साथै दुई असिस्ट गरेपछि साविक विजेता गोकुलम केरलाले दोस्रो सेमिफाइनलमा शुक्रबार राति इस्टर्न स्पोर्टिङ युनियनलाई ५(१ ले हरायो ।

गोकुलमका लागि इन्दुमतिले पनि दुई गोल गरिन् भने एक गोल भिभिएन अडेजेईको नाममा रह्‍यो ।

गोकुलम केरलाले अब उपाधिका लागि नेपाली खेलाडीद्वय सरु लिम्बु र रेनुका नगरकोटे सम्मिलित किकस्टार्ट एफसीसँग खेल्नेछ ।

किकस्टार पहिलो उपाधि जित्ने योजना हुँदा गोकुलम भने उपाधि ह्याट्रिक गर्ने योजनामा छ ।

खेलमा १–० ले पछि परेको गोकुलमले उत्कृष्ट पुनरागमन गर्दै जित हासिल गरेको हो ।

खेलको १८औं मिनेटमा कमला देवीले गोल गर्दै इस्टर्न स्पोर्टिङ युनियनलाई १–० ले अग्रता दिलाइन् ।

खेलको ३१औं मिनेटमा गोकुलमले पेनाल्टीको अवसर पायो। पेनाल्टी एरियामा विपक्षी खेलाडीले सावित्रालाई लडाएपछि गोकुलमले पेनाल्टी अवसर पाएको थियो। जुन अवसरलाई इन्दुमतिले खेर जान दिइनन् ।

पहिलो हाफको इन्ज्युरी समयमा सावित्राले गोल गर्दै गोकुलमलाई २–१ को अग्रता दिलाइन्। खेलको मध्यभागबाट आएको बललाई सावित्राले किपर अघि बढेको मौकामा गोल गरेकी हुन् ।

खेलको ५५औं मिनेटमा सावित्राको क्रसमा भिभियनले गोल गरिन्। खेलको ७०औं मिनेटमा सावित्राले दिएको क्रसमा इन्दुमतिले हेडर गोल गर्दै गोकुलमलाई ४–१ को अग्रता दिलाइन् ।

खेलको इन्ज्युरी समयमा सावित्राले गोकुलमका लागि पाँचौं तथा व्यक्तिगत दोस्रो गोल गरिन्। सवित्राले डिबक्स बाहिरबाट डिफेन्डर र गोलरक्षकलाइ बिट गर्दै लगेको बललाई पोस्टको दिशा दिइन् ।

 

सम्बन्धित समाचार