म्यानचेष्टर सिटीले तीन खेलअघि नै प्रिमियर लिगको उपाधि जितेको छ ।
शनिबार राति भएको खेलमा दोस्रो स्थानको आर्सनल नटिङहम फरेस्टसँग १-० ले पराजित भएपछि सिटी नखेली च्याम्पियन बनेको हो । फरेस्टका लागि घरेलु मैदान ताइवो अवोनियीले १९औं मिनेटमा गोल गरे ।
आर्सनलका कप्तान मार्टिन ओडिगार्डले दिएको पास फरेस्टका गिब्स ह्वाइटको खुट्टामा पुगेको थियो । उनले बक्समा गरेको क्रसमा आर्सनलका डिफेन्डर गाब्रियलले ट्याकलमार्फत क्लियर गर्न खोजेका थिए । तर, फरवार्ड आवोनियीलाई लागेर गोलमा परिणत भएपछि आर्सनल पछि परेको थियो । बाँकी समयमा गोलका लागि निरन्तर प्रयास गरे पनि सफल हुन नसक्दा आर्सनल उपाधि होडबाट बाहिरियो ।
यस सिजन उत्कृष्ट सुरुआत गर्दै लामो समयसम्म शीर्ष स्थानमा रहेको आर्सनलले २००४ पछि पहिलो पटक लिग जित्ने लक्ष्य बनाएको थियो । तर पछिल्ला खेलहरुमा खराब प्रदर्शन गर्दा आर्सनल सफल हुन सकेन ।
नटिङहम फरेस्टसँग हारपछि आर्सनलको ३७ खेलबाट ८१ अंक छ र अब एक खेल बाँकी हुँदा शीर्ष स्थानको सिटीभन्दा ४ अंकले पछि छ । सिटीले सबै खेल हार्दा पनि आर्सनलले बाँकी एक खेल जितेर भेट्ने छैन ।
सिटीको ३५ खेलबाट ८५ अंक छ । सिटीले आइतबार घरेलु मैदानमा चेल्सीसँग खेल्दैछ ।