माओवादीले उपनिर्वाचन हुने सबै स्थानीय तहमा आफ्नै उम्मेदवार उठाउने

Image

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनमा सबै ठाउँमा आफ्नै उम्मेदवार उठाउने भएको छ । सोमबार खुमलटारमा बसेको पार्टी पदाधिकारीको बैठकले सबै स्थानीय तहमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको हो ।

यद्यपि विपक्षी दलहरूसँगको सम्भावित सहकार्यबारे पछि छलफल गरी निर्णय हुने पार्टीका प्रवक्ता अग्नि सापकोटाले बताए । “सत्तारूढ दलसँग सहकार्य गर्दैनौँ, अरूसँग स्थानीय तहमा आफ्नो अनुकूलतामा सहकार्य गर्ने निर्णय भएको छ । नभए एक्लै चुनाव लड्छौँ,” सापकोटाले भने ।

माओवादीले नेकपा (एकीकृत समाजवादी)लगायत दलसँग सहकार्य गर्ने नीति लिएको छ । “केन्द्रबाटै छलफल त गर्दैनौँ, मिल्नेसम्म स्थानीयस्तरमा नै सहकार्य हुन्छ,” उनले भने ।

उम्मेदवारबारे तल्ला कमिटीले गरेका निर्णय पदाधिकारी बैठकबाट अनुमोदन गरिएको छ । स्थानीय तहका रिक्त ४२ स्थानमा आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।