नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावी पुस्तालाई समेत गरिबी र अभावको दुष्चक्रमा पार्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानी निरुत्साहित हुने र विकास रोकिने कुनै पनि कार्य नगर्न सबैमा आग्रह गरे ।
मुलुकमा विकास पूर्वाधार, विशेष गरी धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठूला सम्भावना रहेको बताउँदै ढकालले यसका लागि ठूलो पुँजी आवश्यक पर्ने र त्यसका लागि लगानीको वातावरण बन्नुपर्ने बताए । ‘हामीले चन्द्रागिरि केबलकार बनाउँदा पनि यस्तै प्रतिरोधको सामना गर्नुपरेको थियो । तर अहिले त्यो क्षेत्र समृद्ध छ । स्थानीयले रोजगारी पाएका छन्, मुलुकले एउटा पर्यटकीय गन्तव्य पाएको छ,’ उनले भने ।
ढकालले गण्डकी प्रदेश र गैँडाकोटको विकासको सम्भावनालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । उनले गण्डकी प्रदेशको सम्भावनालाई उजागर गर्न निजीक्षेत्र र सरकारले सहकार्य गर्न आवश्यक रहेको समेत बताए । हालै नेपाल–चीन–कोरला नाका पुगेर आएको प्रसंङ्ग उठाउँदै उनले म्याग्दीदेखि कोरलासम्मको बाटो स्तरोन्नति गर्ने हो भने कालीगण्डकी कोरिडोरले विश्वका दुई ठूला अर्थतन्त्र जोड्दै नेपालको आर्थिक विकास र सम्मृद्धिमा प्रमुख भूमिका खेल्न सक्ने बताए ।
आफू महासंघको नेतृत्वमा आइसकेपछि विभिन्न मुलुकमा पुगेर वैदेशिक लगानी भित्र्याउन पहल गरेको बताउँदै उनले वैदेशिक लगानी भित्र्याउन महासंघले पहल गरिरहेको बताए । उनले प्रदेश सरकार तथा स्थानीय तहका नेतृत्वलाई आफ्नो कार्यकालको मूल्याङ्कन आफूले गरेको कामको नतिजाबाट गर्न आग्रह गरे ।