हिरासतमा भेट्न पुगेका नेताहरुलाई रविको निर्देशन: मेरो पक्राउ राजनीतिक प्रतिशोध हो भन्ने बुझाउनुस्

राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरुले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । उपसभापतिद्वय स्वर्णिम वाग्ले, डीपी अर्याल र प्रवक्ता मनिष झाले सभापति लामिछानेलाई भेट गरेका हुन् ।

सोमबार भएको भेटमा लामिछानेले आफूलाई हिरासतमा नलिई अनुसन्धान गर्न सकिनेमा सत्तापक्षले राजनीतिक प्रतिशोधका कारण हिरासतमा राखेको बताएका थिए ।

उनले आफूलाई हिरासतमा राख्नु राजनीतिक प्रतिशोध हो भन्ने कुरा जनतालाई बुझाउन निर्देशन दिएको प्रवक्ता झाले जानकारी दिए । प्रहरी कार्यालयबाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिने क्रममा उनले सभापति लामिछाने पक्राउको विरोधमा रास्वपाले आन्दोलनलाई निरन्तरता दिने बताए । आफ्ना सभापति लामिछानेप्रति वर्तमान सत्ता निर्दयी भएको उनको टिप्पणी छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पटक पटक म्याद थपेर हिरासतमा राखेर सरकारले अनावश्यक रूपमा दम्भ र प्रतिशोध साँधेको बताए ।

‘हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने कारण देखिँदैन । हिजो भर्खर १३ दिन म्याद थपिएको छ । हामीले स्वास्थ्य अवस्था बुझ्दै आन्तरिक छलफल गरेका छौ । राजनीतिक दल प्रक्रियागत रूपमा चल्नुपर्छ । त्यसैले यसबारे केन्द्रीय समितिमा छलफल गर्छौ र धारणा सार्वजनिक गर्छौ’, झाले भने । उनले लोकतन्त्रको आडमा सरकारले अधिनायकवादी चरित्र देखाएको पनि बताए ।

उपसभापति वाग्लले पनि प्रतिशोध साध्न नै सभापतिलाई अनावश्यक हिरासतमा राखेको बताए । उनले भने, ‘हामीले न्यायिक अनुसन्धानको विरोध गरेका छैनौं । हाम्रो विधिको शासनमा आस्था पनि छ । अति नै भयो । रविजी र रास्वपाप्रति सहानुभूति बढेको छ । अहिले सरकारले राजनीतिक प्रतिशोध राखेको हो । हाम्रो आन्दोलन जारी नै छ । यो अभियानलाई अझै व्यापक बनाउँछौं । कुनै ठोस योजना बनाएर अन्य साथीहरुलाई पनि जोड्छौं ।’

अर्का उपसभापति अर्यालले दोस्रो चरणको आन्दोलनलाई व्यवस्थित मोडालिटी बनाएर जाने बताए । हिरासतमा भए पनि सभापति लामिछाने नै हुने उनले दोहोर्‍याए ।

भेटमा सभापतिको भनाइ उद्धृत गर्दै उनले भने, ‘अहिले अनुसन्धान प्रक्रिया चलिरहेको छ । हामीले बाहिर बसेर गर्न सकिने विषय हुँदाहुँदै पनि मलाई यति गर्नु भनेको चाहिँ राजनीतिक प्रतिशोध हो । यो राजनीतिक प्रतिशोध हो भन्ने कुरा नागरिकलाई बुझाउन भ्याउनुभएको छ कि छैन, बुझाउनुस् । त्यसमा केन्द्रीय समिति र हाम्रा नेताहरु चुक्नुहुँदैन ।’

Share