हेटौँडामा पेट्रोल ट्यांकरको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते

Image

हेटौँडामा पेट्रोल ट्यांकरको टायरमा हावा भर्ने क्रममा टायर पड्किँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

टायर पड्किँदा भारत घर भई हेटौँडा उपमहानगरपालिका वडा नम्बर-११ थानाभर्‍याङमा टायर मर्मत पसल सञ्चालन गर्दै आएका ३४ वर्षीय मोहम्मद ऐजाज रहेका छन् । विष्फोटमा परेर गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए । उनको उपचारको क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो ।

गएराति १ बजे मधेस प्रदेश ०३-००२ ख ०३०० नम्बरको पेट्रोल बोकेको टयांकरको टायर मर्मत गर्ने क्रममा टायर खोली मर्मतपछि हावा भर्ने क्रममा टायर विस्फोट हुँदा घटना भएको हो ।

सो घटनामा परी टायर मर्मत पसलमा काम गर्ने पर्साको धोबिनी गाउँपालिकाका १८ वर्षीय जाबिर हवारी, हेटौंडा–११ का ३९ वर्षीय देवान लामा, हेटौंडा–११ कै ४७ वर्षीय मोहनलाल दुलाल, धादिङको धुनिबेशी नगरपालिका–२ का २३ वर्षीय उत्तम बस्नेत र धादिङको थाक्रे गाउँपालिका–८ का लक्ष्मण थापा घाइते भएका छन् ।

घाइतेमध्ये ट्यांकर चालक देवान लामाको अवस्था मध्यम रहेको र उनको चुरे हिलअस्पतालमा उपचार भइरहेको छ यस्तै अन्य ४ जना घाइतेको उपचारपछि डिस्चार्ज भएको प्रवक्ता अर्यालले जानकारी दिए ।