रवि लामिछाने बिहानदेखि पोखरा विमानस्थलमै, जहाज उड्न ढिलाइ

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देहीको बुटवल लगिंदै छ ।

लामिछानेलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा लगेर त्यहाँबाट बुटवल लैजाने तयारी भए पनि पोखराबाट जहाज उड्न ढिलाइ भएको छ।

रवि लामिछानेसहित यात्रुहरूलाई जहाजभित्र राखिसकिएको छ तर भिजिबिलिटी नहुँदा जहाज उड्न सकेको छैन। उनलाई बुद्ध एयरको जहाजबाट भैरहवा लगिनेछ। बुद्धको बिहान सात बजेको उडानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लैजाने तयारी भएपनि प्रतिकुल मौसमका कारण पाँच घण्टादेखि उडान हुन सकेको छैन ।

बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्नता देखिएको भन्दै गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका रविलाई अनुसन्धानका लागि कास्की जिल्ला अदालतले कात्तिक २५ गते थप १३ दिनका लागि हिरासतमा राख्न अनुमति दिएको छ ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत पक्राउ पूर्जी जारी भएकाले उनलाई आज बुटवल लगिने र त्यहाँ बयान गराइ आजै पोखरा फर्काउने तयारी छ ।

पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको दाबी गर्दै आएको रास्वपाले आज बुटवलमा पनि विरोध प्रदर्शनको तयारी गरेको छ । त्यसैले स्थानीय प्रशासनले बुटवलको सुरक्षा व्यवस्था कडा पारेको छ ।

Share