लुम्बिनी प्रदेशमा विभिन्न विपदबाट पाँच करोड ५० लाखभन्दा बढी क्षति भएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गंगाधर पाण्डेयका अनुसार विपद्का कारण चालु आर्थिक वर्षको कात्तिकसम्म पाँच करोड ५८ लाख ५२ हजार बराबरको क्षति भएको हो ।
सबैभन्दा बढी रोल्पामा एक करोड ७१ लाख ४९ हजार र सबैभन्दा कम रुकुमपूर्व र गुल्मीमा शून्य क्षति भएको उनले जानकारी दिए । लुम्बिनीमा चार सय ५२ घटना भएकामा एक सय १४ जनाको मृत्यु भएको छ, भने दुई सय २९ घाइते भएका छन् ।
विपदबाट १० जना बेपत्ता भएका छन् भने एक सय १५ संरचना पूर्ण रूपमा क्षति भएको सूचना अधिकारी पाण्डेयले बताए ।
उनका अनुसार तीन सय २३ संरचनामा आंशिक क्षति भएको छ । लुम्बिनीमा बाढीपहिरो, डुबानबाट उक्त क्षति भएको हो । पहाडी क्षेत्रमा पहिरो तथा तराईमा बाढी र डुबानले बढी क्षति भएको पाण्डेयले उल्लेख गरे ।















