युराे कप : इटाली र वेल्स अन्तिम १६ मा

इटाली र वेल्स युरोपेली च्याम्पियनसिपको अन्तिम १६ प्रवेश गरेका छन् ।

समूह ए अन्तर्गत अन्तिम चरणको खेलमा वेल्स इटालीसँग १-० ले पराजित भएपनि अर्को खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३-१ ले पराजित गरेपनि गोल अन्तरमा वेल्स अघि रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो ।

इटालीले ३ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा रहयो । वेल्स र स्विट्जरल्यान्डको समान ४-४ अंक भएपनि गोलअन्तरको आधारमा वेल्स दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गर्यो । स्विट्जरल्यान्डले भने अब अन्य समूहको तेस्रो स्थानको नतिजा प्रतीक्षा गर्नुपर्ने छ ।

खेलको ३९ औं मिनेटमा म्याटियो पेस्सिनाले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । उनले मार्को भेराट्टीको फ्रिकिकमा गोल गरेका थिए ।

यही समूहको अर्को खेलमा जेर्डान शाकिरीले २ गोल गरेपछि स्विट्जरल्यान्डले टर्कीलाई ३–१ ले पराजित गर्यो । स्विट्जरल्यान्डको लागि अर्को गोल हरिस सेफेरोभिचले गरे भने टर्कीको लागि इरफान च्यान काभेचीले एक गोल फर्काए ।

खेलेको छैटौं मिनेटमा नै सेफेरोभिचले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । उनले स्टिभन जुबरको पासमा गोल गरेका थिए ।

२६ औं मिनेटमा शाकिरीले गोल गर्दै अग्रता दोब्बर पारेका थिए । उनले जुबरकै पासमा गोल गरेका थिए । ६२ औं मिनेटमा काभेचीले एक गोल फर्काए ।

६८ औं मिनेटमा शाकिरीले व्यक्तिगत दोस्रो गोल गर्दै स्विट्जरल्यान्डलाई ३–१ को अग्रता दिलाए । उनले जुबरले झाकाको पासमा गोल गरेका थिए । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा खेल स्विट्जरल्यान्डले जित्यो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार