एमाले धादिङ अधिवेशनको बन्दसत्र फागुन १ गतेबाट हुने

नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशनको बन्दसत्र फागुन १ गतेबाट सुरू हुने भएको छ ।

अधिवेशनको अध्यक्षमण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले सूचना जारी गर्दै फागुन १ गते बिहान ११ बजेदेखि बन्दसत्र सुचारु हुने जानकारी गराएका छन् ।

यही माघ १९ गते महासचिव शंकर पोखरेलले उद्घाटन गरेको अधिवेशनमा प्रतिनिधि छनोट र अध्यक्षमण्डलका विषयमा विवाद भएको थियो । कुटपिटको समेत अवस्था सिर्जना भएपछि प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन स्थगित गरेका थिए । जिल्ला अध्यक्ष भूमि त्रिपाठीले भने बन्दसत्र अघि बढाउने तयारी गरेका थिए । तर, अन्योलपछि अधिवेशन स्थगित गरेर नेताहरू काठमाडौं आएका थिए ।

विवाद भएर हात हालाहालको अवस्था सिर्जना भएपछि अध्यक्ष केपी शर्मा ओलीले बागमती प्रदेश इन्चार्ज गुरू बराज, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटा सहितका नेतालाई बालकोट बोलाएका थिए ।

आइतबार राति एक बजेसम्म भएको छलफलमा अधिवेशनमा देखिएको विवाद समाधान गर्न संगठन विभागले दुई जना प्रतिनिधि खटाउने सहमति भएको थियो भने बन्दसत्र मंगलबारबाट सुरू गर्ने समझदारी भएको थियो ।