स्विडेनका चर्चित स्ट्राइकर ज्लाटन इब्राहिमोभिचले सक्रिय खेलजीवनबाट सन्न्यास लिएको घोषणा गरेका छन् । उनी समकालीन विश्व फुटबलका चर्चित खेलाडीमध्ये एक थिए । उनले ४१ वर्षको उमेरमा खेलजीवनबाट सन्न्यास घोषणा गरेका हुन् ।
पछिल्लो समय उनी इटालियन सिरिए क्लब एसी मिलानबाट ब्यवसायीक फुटबल खेल्थे । उनी सन् २०२० मा एसी मिलानमा आबद्ध भएका थिए । उनले सन् २००१ देखि लगातार २२ वर्ष स्विडेनको राष्ट्रिय टोलीबाट पनि खेले ।
‘मैले सक्रिय खेलजीवनबाट विदा लिएको हुँ तर, तपाइँहरुसँग होइन,’ मैदानमा समेत साथीहरुसँग रमाइलो गर्न रुचाउने ब्यवहारका कारण सधैं चर्चामा रहने इब्राहिमोभिचले आइतबार राति सान सिरोमा उपस्थित हजारौं समर्थकलाई सम्बोधन गर्दै भने ।
यसअघि नै इब्राहिमोभिचले आफूले एसी मिलान छाडन लागेको बताएका थिए । ब्यवसायीक खेलजीवनमा उनले विभिन्न क्लबका लागि पाँच सय ११ गोल गरेका छन् । एसी मिलानका अतिरिक्त उनले अर्को इटालियन क्लब इन्टर मिलानबाट पनि खेलेका थिए ।