पूर्वसांसद रामवीर मानन्धर नेकपा एमालेमै सक्रिय भएका छन् । उनी केही वर्षदेखि राजनीतिमा निस्कृयजस्तै थिए ।
तर काठमाडौं महानगरको १६ नम्बर वडामा उपचुनाव हुँदै गर्दा मानन्धर फेरि एमालेमै सक्रिय भएका हुन् । एमालेले वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाएको छ । बुधबार भएको उम्मेदवार घोषणा सभामा मानन्धर पनि सहभागी भए ।
मानन्धर २०४९ र २०५४ मा दुईपटक १६ नम्बर वडाको वडाध्यक्ष निर्वाचित भएका थिए भने २०७० र २०७४ मा सोही क्षेत्रबाट सांसद जितेका थिए । पछिल्लो २०७९ को चुनावमा घण्टाघर चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका मानन्धरले १२ सय मत पाएका थिए ।
मंसिर १६ गते हुने उपनिर्वाचनको मुखैमा उनी एमालेमा फर्किएर १६ नम्बर वडाको चुनावी अभियानमा सक्रिय भएको जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले बताए । मानन्धर एमालेमा फर्किएसँगै वडा नम्बर १६ मा विरासत फर्काउन सहज भएको अध्यक्ष निरौलाले बताए ।
एमालेमा तत्कालीन नेता वामदेव गौतमनिकट मानिने मानन्धर २०७९ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा मेयरको प्रतिष्पर्धा गर्न चाहन्थे । तर एमालेले केशव स्थापितलाई टिकट दिएपछि फरक मत राख्दै पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।
कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मुकुन्द रिजालको निधनपछि रिक्त स्थानमा हुन लागेको उपचुनावमा कांग्रेसले उम्मेदवार तय गर्न बाँकी छ । सो वडाका ४ सदस्य भने एमालेले जितेको छ ।