विमान दुर्घटना परी हराइरहेका चारजना बालबालिका कोलम्बियाको जङ्गलमा ४० दिनपछि जीवितै फेला परेका छन् । यो विमान दुर्घटना गत मे १ मा अमेजनको जंगलमा भएको थियो ।
दुर्घटनामा यी चार भाइबैनी, उनीहरूका आमा, पाइलट र को–पाइलटसहित विमानमा सवार थिए। बालबालिकाको उमेर १३, ९, ४ र १ वर्ष छन् । दुर्घटनामा बालबालिकाकी आमा र अन्य व्यक्तिको मृत्यु भएको थियो । चार बालबालिका भने जीवितै फेला परेका हुन् ।
ती बालबालिकालाई जंगलबाट उद्धार गरी शनिबार बिहान राजधानी बोगोटा पुर्याइएको छ ।
बालबालिका बोकेको कोलम्बियाई सेनाको मेडिकल विमान बिहान (०५३० जिएमटी) मा सैन्य विमानस्थलमा अवतरण भएको हो । बच्चाहरूलाई तुरुन्तै एम्बुलेन्सबाट अस्पताल पुर्याइएको छ ।