इंग्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ ।
शनिबार राति टर्कीको इस्तानबुलमा भएको उपाधि भिडन्तमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोलले पराजित गर्दै सिटी युरोपियन च्याम्पियन बनेको हो ।
सिटीको जितमा रोद्रीले खेलको ६८ मिनेटमा गरेको गोल निर्णायक साबित भयो ।
यससँगै सिटीले ट्रबेल जितेको छ । यसअघि प्रिमियर लिग र एफए कपको उपाधि जितेको सिटी सन् १९९९ पछि ट्रेबल जित्ने पहिलो इंग्लिस क्लब बन्यो । पछिल्लो पटक इंग्लिस क्लबमा म्यानचेस्टर युनाइटेडले सन् १९९९ मा ट्रेबल जितेको थियो ।
प्रशिक्षक पेप ग्वार्डिओलाले प्रशिक्षकको रुपमा दोस्रो क्लबबाट च्याम्पियन्स लिग जिते। उनले बार्सिलोनामा दुई च्याम्पियन्स लिग जितेका थिए ।
सिटी दुई वर्षअघि पनि फाइनलमा पुगेको थियो । त्यतिबेला सिटी चेल्सीसँग पराजित भएको थियो ।