गेटा आँखा अस्पतालको निःशुल्क शिविर सञ्चालन, १ सय ८८ जनाले पाए ज्योति

नेपाल नेत्रज्योति सङ्घ र गेटा आँखा अस्पतालले सुदूरपश्चिका विभिन्न स्थानीय तहसँगको सहकार्यमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।

नेत्रज्योति सङ्घ, गेटा आँखा अस्पताल र स्थानीय तहको संयुक्त आयोजनामा डोटीका दुई र अछामको एक स्थानीय तहमा आँखा शिविर सञ्चालन गरिएको हो । तीन वटा आँखा शिविरमार्फत एक हजार एक सय ४१ बिरामीको निःशुल्क आँखा परीक्षण गरिएको अस्पतालका नेत्र अधिकृत नरेन्द्रराज विष्टले जानकारी दिए । शिविरमार्फत एक सय ८८ जनाको मोतिया विन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ ।

पहुुँच र पैसाको अभावमा कुनै नागरिक दृष्टिविहिन भएर बस्न नपरोस् भन्ने हेतुले संघले देशका विभिन्न क्षेत्रहरुमा निःशुल्क आँखा शिविरहरू संचालन गर्दै आइरहेको हो ।

जेठ १५ र १६ गते डोटी जिल्लाको सायल गाँउपालिकामा सम्पन्न आँखा शिविरमा ३५१ जनाको निःशुल्क आँखा परीक्षण गरी मोतियाबिन्दु देखिएका ७३ जना बिरामीहरूको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो ।

त्यस्तै, डोटी जिल्लाकै बोगटान फुटसिल गाँउपालिकामा जेठ २१ र २२ गते सम्पन्न शिविरमा ३९३ जनाको आँखा परिक्षण गरि ६० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको अस्पतालका नेत्र अधिकृत नरेन्द्रराज बिष्टले बताए ।

त्यसैगरी जेठ १८ र १९ गते अछाम जिल्लाको मेल्लेख गाँउपालिकामा सम्पन्न शिविरमा ३९७ जनाको निःशुल्क आँखा जाँच गरि मोतियाबिन्दु देखिएका ५५ जना बिरामीहरुको निःशुल्क शल्यक्रिया समेत गरिएको थियो ।

तिनवटै आँखा शिविरमा न्यूनदृष्टि देखिएका ४५२ बिरामीहरुलाई निःशुल्क चस्मा समेत वितरण गरिएको अस्पतालका बाह्य कार्यक्रम व्यबस्थापक रमेशचन्द्र भट्टले बताए ।

सम्बन्धित समाचार