ढोरपाटनका मेयर भन्छन्- सहकारीको रकमबाट निजी सम्पत्ति किनेको छु, फिर्ता गर्न नगद छैन

बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले सहकारीमा बचतकर्ताले जम्मा गरेको पैसाले आफूले घर जग्गा जोडेको स्वीकार गरेका छन् ।

सहकारीका बचतकर्तालाई माघ १९ गते अपिल जारी गर्दै उनले सहकारीको बचतसमेत प्रयोग गरेर विभिन्न ठाउँमा घरजग्गा किनेको बताएका हुन् । उनले काठमाडौं, पोखरा, बागलुङ बजार, बुर्तिबाङमा गरी ४५ कित्ता जग्गा र १८ वटा घरमा सहकारीको पैसा, बैंकको ऋण र आफूसँग भएको पैसा लगानी गरेको बताएका छन् ।

सहकारीको रकमबाटसमेत आफ्नो र श्रीमतीको नामबाट घर जग्गा किनेको स्वीकार्दै ती सम्पत्ति बिक्रीबाट वचतकर्ताको रकम फिर्ता गर्ने चाहना दोहोर्‍याएका छन् ।

गत जेठ ५ गतेदेखि फरार मेयर नेपालीले मंसिर ५ गते फेसबुकमार्फत भिडियो र विज्ञप्ति जारी गर्दै आफ्नो सम्पत्ति बेचेर बचतकर्ताको हिसाब मिलान गर्ने बताएका थिए । फेरि गत शुक्रबार घर र जग्गाको विवरणसमेत सार्वजनिक गर्दै सबै बचतकर्ताको जिम्मा लगाउन चाहेको उनले उल्लेख गरेका छन् ।

घर जग्गा विवरणमा उनले बुर्तिबाङमा २९ वटा कित्ता जग्गा रहेको र ३ वटा होटल रहेको बताएका छन् । बुर्तिबाङमा ८ तला अग्लो होटल दरबार, ४ तलाको मिनी होटल दरबार र ४ तलाकै होटल दरबार रेष्टुरेण्ट रहेको उल्लेख गरेका छन् ।

यस्तै, बागलुङ बजारमा ४ वटा कित्ता जग्गा र २ वटा भवन रहेको बताएका छन्। बागलुङ बजारमा रहेको कर्म कम्प्लेक्स ६ तला र मिनी कर्म कम्प्लेक्स ५ तलाको भवन रहेको उल्लेख गरेका छन् । विज्ञप्ति अनुसार पोखरामा ६ कित्ता जमिन रहेको र ३ वटा भवन रहेको बताएका छन्।

पोखराको सिर्जना चोकमा कर्म कम्प्लेक्स ९ तला, शिवालय चोकमा ५ तला र पृथ्वीचोकमा घर भएको पनि उनले उल्लेख गरेका छन् ।

काठमाडौंमा ५ कित्ता जमिन र ६ वटा भवन रहेको उनले बताएका छन् । काठमाडौंको सुकेधारामा सानिमा बैंक भएको घरसहित ४ वटा घर, सुकेधारामै बजाज शोरूम भएको घर र सुकेधारामा कर्म कम्प्लेक्स रहेको उनले बताएका छन् ।

ठगी मुद्दामा बागलुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाका कार्यबाहक अध्यक्ष डोरबहादुर परियारसहित ५ जना पुर्पक्षका लागि थुनामा छन् । बागलुङ बजारमा मुख्य कार्यालय खोलेर बुर्तिवाङ, गलकोटमा सेवा कार्यालयका नाममा कारोबार गरेको इमेज सहकारीले १ अर्ब ३८ करोड र देवकुमारकै नेतृत्वमा इमेजकै नाममा पोखरामा छुट्टै दर्ता भएको सहकारीबाट ६० करोड रुपैयाँ हिनामिना भएको भन्दै अदालतमा बिगो दाबीसहित मुद्धा दर्ता गरिएको छ ।