अन्तिम अभ्यास खेलमा नेपाल विजयी, कुशल भुर्तेलको शतक

आईसीसी विश्वकप एकदिवसीय छनोटको आफ्नो अन्तिम अभ्यास खेलमा नेपाल विजयी भएको छ । जिम्बावेको हरारे स्पोर्ट्स क्लबमा बिहीबार भएको खेलमा नेपालले ओमानलाई दुई विकेटले हराएको हो ।

पहिला ब्याटिङ गरेको ओमानले दिएको २६८ रनको लक्ष्य नेपालले ४४ दशमलव ५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालका कुशल भुर्तेलले सर्वाधिक १०१ रनको योगदान दिए । भुर्तेलले ९४ बल खेल्दै १३ चौका र २ छक्काको मद्दतमा १०१ रन बनाएका हुन् ।

यस्तै नेपालका लागि भीम सार्कीले ७४ बलमा ५६, कप्तान रोहितकुमार पौडेलले २८ बलमा ३१ र दीपेन्द्रसिंह ऐरीले २२ बलमा २६ रन जोडे, आसिफ शेखले २४ बलमा २३ रन बनाए । कुशल मल्ल १७ रनमा आउट भए ।

ओमानका लागि अकिब ईलियासले ४ र फैयाज बटले दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ४९ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २६७ रन बनाएको थियो । ओमानका लागि कप्तान जिशान मकसुदले १०६ बलमा १०९ रनको शतकीय इनिङ खेल्नुभयो भने सोयब खानले ६८ बलमा ३८ रन बनाएका थिए ।

नेपालका लागि सोमपाल कामीले ५ विकेट लिए भने सन्दीप लामिछानेले ३ विकेट हात पारे । करण केसी र प्रतिश जिसीले समान १÷१ विकेट लिए ।

एक दिवसीय विश्वकप छनोट खेल आगामी असार ३ गतेदेखि जिम्बावेमा सुरु हुँदैछ । विश्वकप छनोटको पहिलो खेलमा नेपालले असार ३ गते घरेलु टोली जिम्बावेसँग खेल्दैछ ।

सम्बन्धित समाचार