वीरका सात सय शय्या बिरामीका लागि निःशुल्क

वीर अस्पतालमा शुक्रबारदेखि बिरामीका लागि निःशुल्क शय्याको व्यवस्था गरिएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले शुक्रबारदेखि बिरामीका लागि सात सय साधारण शय्यामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए ।

उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शय्याको व्यवस्था गरिएको बताए । उनका अनुसार अस्पतालले सात सय साधारण शय्या निःशुल्क गरेको छ ।

मन्त्रालयको पहलमा शय्याबापत आउने पैसाको शोधभर्ना गर्नेगरी सर्वसाधारणका लागि निःशुल्क गरिएको निर्देशक डा. पौडेलले जानकारी दिए । यसअघि शय्यामा प्रतिदिन दुई सय रुपैयाँ शुल्क लाग्ने गरेको थियो ।

अस्पतालमा क्याबिन, सघन उपचारकक्ष (आइसियू) गरी नौ सय ६० शय्या रहेका छन् ।

सम्बन्धित समाचार