बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी सरकारी जग्गा हिनामिना गरेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित तीनै जना हाजिर जमानीमा रिहा भएका छन् ।
काठमाडौँ जिल्ला अदालतको आदेशबमोजिम सीजी ग्रुपका निर्देशक एवम् व्यापारी चौधरीसहित तीनै जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रिहा गरेको हो ।
अदालतको यो आदेशपछि चौधरीसहित बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडका कार्यकारी अध्यक्ष अजिनारायण सिंह थापा र सीजी चाँदबाग रेसिडेन्सी प्रा।लि।का सञ्चालक सञ्जय ठाकुर थुनामुक्त भएको सीआईबीका एसपी नवराज अधिकारीले बताए ।
मुलुकी अपराध संहिताको दफा १५ मा कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखिए सरकारी वकिलको सहमतिमा अनुसन्धान अधिकृतले हाजिर जमानी वा तारेखमा छाड्न सक्ने व्यवस्था छ ।
अदालतको आदेशपछि प्रहरीले यही दफा प्रयोग गरेर तीन जनालाई छाडेको बाँसबारी जग्गा प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीका एक अधिकृतले बताए ।
उनीहरू तीनैजनालाई खोजेको बेला उपस्थित हुने शर्तमा रिहा गरिएको सीआईबीका एक अधिकारीले बताए । बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा उनीहरूलाई सीआईबीले पक्राउ गरेको थियो।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले सोमबार दिएको आदेशअनुसार उनीहरूलाई गरिएको हो ।