राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देश अहिले टक्क अडिएको अवस्थामा रहेको बताएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठक पार्टीकोतर्फबाट बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘देश टक्क अडिएको अवस्थामा छ । देश अगाडि बढ्ने होइन, बरु कयौँ सन्दर्भमा पछि परेको छ’, उनले भने, ‘देश भ्रष्टाचार र लुटमा मात्रै अघि बढेको छ । अहिले भ्रष्टाचार कहाँ चाहिँ छैन भनेर हेर्नुपर्ने अवस्था आयो ।’ टेलिफोन कलको गुणस्तर हेर्ने यन्त्र टेरामक्समा ठूलो भ्रष्टाचार भएको लिङ्देनले बताए ।
‘टेरामक्स ल्याउने क्रममा पनि र ल्याएपछि पनि भ्रष्टाचार खाने काम भएको छ’, उनले भने, ‘चार वर्षदेखि चलेको अनुसन्धान अझै सकिएन । मन्त्री र नेताहरू फरार छन् भनिएको छ तर कारबाही भएको छैन ।’
अहिलेको व्यवस्था गणतन्त्र नभइ लुटतन्त्र भएको उनले बताए। ‘देश यही व्यवस्थामा अडिइरहन सक्दैन । यस्तै अवस्थामा रोकिन सक्दैन’, उनले भने, ‘विकास निर्माणका काम ठप्प छन्। त्यही भएर देशलाई नयाँ सम्झौता गरेर अगाडि लैजानुपर्छ ।’
उनले अब देशमा नयाँ सम्झौताको आवश्यकता भइसकेको बताएका छन् । ‘हामीले पछाडि फर्किनुपर्छ भनेको होइन’, उनले भने, ‘तर अब देशलाई नयाँ सम्झौता जरुरी भइसकेको छ। जसले देशलाई नवीन रुपमा अघि बढाउने छ ।’