थाइल्यान्डलाई हराउँदै नेपाल सेमिफाइनलमा

नेपाल मलेसियामा जारी एसीसी यू–१६ इस्ट रिजन क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको बाँगीमा बुधबार भएको खेलमा नेपालले थाइल्यान्डलाई दुई सय २५ रनले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो ।

पहिलो जितसँगै नेपाल सेमिफाइनलमा पुग्दा थाइल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ । थाइल्यान्ड पहिलो खेलमा मलेसियासँग पराजित भएको थियो । जितका लागि नेपालले दिएको दुई सय ७० रनको लक्ष्य पछ्याएको थाइल्यान्ड १३।२ ओभरमा सबै विकेटको क्षतिमा ४४ रनमा समेटिएको थियो ।

थाइल्यान्डका इशान बेर्नोजीले १६ र ओपनर डानुफोनले १२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । थाइल्यान्डका सात जना खेलाडी शून्य रनमा आउट भएका थिए ।

थाइल्यान्डलाई सस्तैमा समेट्न नेपालका सन्तोष यादवले पाँच विकेट लिए । अशोक धामीले तीन तथा कप्तान अभिसेक तिवारीले दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा आठ विकेटको क्षतिमा दुई सय ६९ रन बनाएको थियो ।

नेपालका लागि नीरजकुमार यादव र नरेन भट्टले अर्धसतकीय इनिङ्स खेले । नि।जले ७४ र नरेनले अविजित ५५ रन बनाए । सन्तोष यादवले ४२ र सूर्याम्सु कोइरालाले ४० रन बनाए । बलिङमा थाइल्यान्डका निटपाखन मनुवुन, ईशान बानेर्जी र पनुवातले दुई दुई विकेट लिए । जित साद र पियावत नोद्रीले एक एक विकेट झारे ।

प्रतियोगितामा सात टिमको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ बाट सेमिफाइनलमा पुगेको हो । यस समूहमा नेपालसहित आयोजक मलेसिया र थाइल्यान्ड रहेको छ ।

समूह ‘बी’मा सिंगापुर, हङकङ, माल्दिभ्स र इन्डोनेसिया रहेका छन् । समूहको शीर्ष दुर्य टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले समूहको दोस्रो खेल शुक्रबार मलेसियासँग खेल्नेछ ।

सम्बन्धित समाचार