बंगलादेशलाई हराउँदै कुवेत साफ च्याम्पियनसिपको फाइनलमा

बंगलादेशलाई पराजित गर्दै आमन्त्रित टोली कुवेत भारतको बैंगलरुमा जारी साफ च्याम्पियनसिप २०२३ को फाइनलमा प्रवेश गरेको छ ।

शनिबार बेंगलुरुस्थित कान्तिराव स्टेडियममा भएको पहिलो सेमिफाइनलमा अतिरिक्त समयमा बंगलादेशलाई १–० ले हराउँदै कुवेत फाइनलमा पुगेको हो । अब्ददुल्ला अल्ब्लोसीले गरेको गोल नै खेलको निर्णायक बनेपछि कुवेत उपाधि नजिक पुगेको हो ।

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल नभएपछि खेलमा ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । अतिरिक्त समयको पहिलो हाफको इन्जुरी टाइममा अलब्लाउसीले गोल गर्दै कुवेतलाई अग्रता दिलाएका थिए र त्यही अग्रता कायम राख्दै कुवेत पहिलो सहभागितामै साफको उपाधि नजिक पुगेको हो ।

१४ वर्षपछि सेमिफाइनल खेलेको बंगलादेशको १८ वर्षपछि फाइनल पुग्ने सपना भने पूरा हुन सकेन । बलियो कुवेतलाई १०५ मिनेटसम्म बराबरीमा रोक्न सफल भएपनि एकै गल्तीमा गोल खाँदा बंगलादेश पराजित भयो ।

पहिलो सहभागितामा फाइनल पुगेको कुवेतले अब फाइनलमा भारत र लेवनानमध्ये एकको सामना गर्नेछ । भारत र लेबनाबीचको खेल नेपाली समय अनुसार शनिबार नै राति पौने ८ बजे सुरु हुनेछ ।

सम्बन्धित समाचार