नेपालले एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले हराउँदै उपाधि जितेको छ । नेपालले लगातार तेस्रो पटक उपाधि जितेको हो । जितको लागि २ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अल आउट भयो ।
मलेसियाका मोहम्मद अक्रमले १० रन बनाए । अन्य कुनैपनि ब्याटरले नेपाली बलर सामु दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालको जितमा कप्तान अभिषेक तिवारीले ६ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ५ विकेट लिए । सन्तोष यादवले ३ ओभरमा २ मेडनसहित ९ रन खर्चेर ३ विकेट लिए । सागर गैरेले ५ ओभरमा १३ रन खचेर १ विकेट लिए । त्यस्तै अशोक धामीले ४ बलमा १ रन खचेर १ विकेट लिएका थिए ।
मलेसियाको बायुमास ओभलमा भएको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन बनाएको थियो।
नेपालका लागि शीर्षक्रमका ब्याटर नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ खेले । ओपनर निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रनमा आउट भए । ओपनर सूर्यान्सु कोइराला १८ रन, सन्तोष यादव २९, अशोक धामी ११ र दिपु कुमार ५ रनमा आउट भए । मलेसियाका मोहम्मद अक्रमले ७ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । यसअघि नेपालले २०१७ र २०१९ मा पनि यू- १६ को उपाधि जितेको थियो । यसअघिको दुई संस्करण भने यू १६ रिजनको नामले थिए ।