मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर ८ वर्षीय बालकको मृत्यु

झापाको मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर एक छात्रको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर नगरपालिका–१० धुलाबारीकी मेरिना लिम्बुका ८ वर्षीय छोरा तान्छोक लिम्बु रहेका छन् । सोमबार दिउँसो २ बजे धुलाबारीस्थित पूर्व–पश्चिम राजमार्ग उत्तर रहेको सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी) को शौचालयको सेफ्टी ट्यांकीमा खसेका थिए ।

बालक लिम्बुको मङ्गलबार बिहान साढे १० बजे बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । खाजा खाएर शौचालय जाँदा उनी सेफ्टी ट्यांकीमा खसेका थिए । सेफ्टी ट्याङ्कीमाथि मक्किएको पलाइको टुक्रा मात्रै राखेर मन्टेश्वरीले दुर्घटना निम्त्याएको बालकको आफन्तको आरोप छ ।

पिजीदेखि कक्षा १ सम्म पढाइने उक्त मन्टेश्वरीका सञ्चालक मनोज गुरुङलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिइसकेको छ । विद्यालयको लापरबाहीले बालकका परिवारले शव बुझ्न मानेका छैनन् ।

२०७० सालमा स्थापना भएको उक्त मन्टेश्वरीमा अहिले ६३ जना बच्चाहरु  अध्ययनरत छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार