दर्शक कुट्ने भलिबल खेलाडीलाई ६ महिना प्रतिबन्ध
राष्ट्रिय टिमका कप्तान थापा पनि बर्खास्त
नेपाल भलिबल संघले खेलका क्रममा दर्शक कुट्ने त्रिभुवन आर्मी क्लबका ३ जना खेलाडीलाई कारबाही गरेको छ ।
सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत गत असार २५ गते गण्डकी प्रदेशसँगको खेलका क्रममा आर्मीका धनबहादुर भट्ट राजेन्द्र विष्ट र धनपती कुँवरले दर्शक कुटेका थिए ।
स्पाइकर भट्टलाई ६ महिना प्रतिबन्ध लगाउदा विष्ट र कुँवरलाई ३/३ महिनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा खेल्न प्रतिबन्ध लगाइएको भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिए ।
चेकआउट हुँदा आर्मीलाई अंक दिएको भन्दै गण्डकीका खेलाडीले असन्तुष्टि जनाएका थिए । त्यहिँ क्रममा दर्शकदिर्घाबाट हुँटिङ हुँदै अपशब्द बोलिएको सुनिएको थियो । लगत्तै कोर्टमा बोतल प्रहार भएपछि आर्मीका खेलाडी उत्तेजित भएका थिए । यस्तै घटनामा संलग्न आर्मीकै ब्लकर रहेका दुर्गा खड्कालाई सचेत गराइएको छ । दुर्गाले प्रतियोगितामा उत्कृष्ट ब्लकरको उपाधि पनि जितेका थिए ।
घटनामा संलग्न रहेको भन्दै आर्मी तथा राष्ट्रिय टिमका कप्तान रहेका हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानीबाट बर्खास्त गरिएको छ । महासचिव श्रेष्ठका अनुसार हरिहजुरले घटनालाई साम्य पार्नुको सट्टा बढाएको भन्दै कप्तान हुन योग्य हुन नसक्ने ठहर गरिएको छ ।
घटना भएपछि नेपाल भलिबल संघले ५ सदस्यीय छानविन समिति गठन गरेको थियो । जसमा महासचिव श्रेष्ठ संयोजक थिए ।
विवादित खेलका रेफ्री गरेका चित्र गुरुङ र अनिल रानालाई क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नदिने गरि कारबाही गरेको छ ।
छानबिन समितिले आर्मीका खेलाडी, टोली, उजुरी दिने दर्शक लगायतको बयान लिएको थियो । गण्डकी प्रदेशविरुद्ध तेस्रो सेटमा आर्मी २३–२४ को अवस्थामा थियो । रेफ्रीले चेकआउट हुँदा अंक आर्मीलाई दिएको भन्दै गण्डकीका खेलाडी असन्तुष्ट जनाएका थिए । सोही क्रममा खेल अनुशासन भन्दा बाहिरको कामहरु भएका थिए ।