बंगलादेशसँगको मैत्रीपूर्ण महिला फुटबल शृंखला नेपालले जितेको छ । ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको दोश्रो तथा अन्तिम खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको हो ।
पहिलो खेल १-१ को बराबरी खेलेका नेपाल र बंगलादेशले दोश्रो खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंग्याएका थिए ।
त्यसपछि खेलको विजेता छान्न ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा टाइब्रेकर गरिएको थियो । जसमा नेपाल ४–२ ले विजयी भयो ।
टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो । अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो ।
बंगलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाएकी थिइन् ।
यो सँगै नेपालले दुई खेलको सिरिज आफ्नो पक्षमा पारेको छ। बंगलादेशलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले साफको फाइनलमा भोगेको हारको बदला समेत लिएको छ।