एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट : पाकिस्तान ‘ए’ च्याम्पियन

एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट उपाधि पाकिस्तान ‘ए’ ले जितेको छ । श्रीलङ्काको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा आइतबार भएको फाइनलमा पाकिस्तानले चर्चित प्रतिद्वन्द्वी भारत ‘ए’ लाई एक सय २८ रनले हरायो ।

पाकिस्तानले दिएको तीन सय ५३ रनको विजय लक्ष्य पछ्याएको भारत ४० ओभरमा सवै विकेटको क्षतिमा दुई सय २४ रनमा समेटियो । भारतका लागि ओपनर अभिषेक शर्माले ६१ रन बनाए ।

कप्तान यश धुलले ३९, ओपनर साई सुदर्शनले २९ र रियान परागले १४ रन बनाए । बलिङमा पाकिस्तानका सोफियान मुकिमले तीन विकेट लिए । मोहम्मद वासिम जुनियर, मिहरम मुम्ताज र अर्सद इक्बालले दुई दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय ५२ रन बनाएको थियो । पाकिस्तानका लागि तैयव ताहिरले एक सय आठ रनको शतकीय इनिङ्स खेले ।

सहबाज फरहामले ६५ र सैब अयबले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । मुबासिर खान र ओमिर समान युसुफले ३५/३५ रन बनाए । मोहमेद वासिमले अविजित १७ र मेहरन मुमताजले १३ रन जोडे । बलिङमा भारतका रियान पराग र राजवर्धन हङ्गेरकरले दुई दुई तथा हर्षित राना, मानव सुतार र निसान्त सिधुले एक एक विकेट लिए ।

पाकिस्तान लगातार दोस्रो पटक उपाधि जितेको हो । यसअघि पाकिस्तान सन् २०१९ मा पनि च्याम्पियन बनेको थियो । यस प्रतियोगितामा सहभागी नेपाल समूह चरणबाटै बाहिरिएको थियो ।

नेपालले यस प्रतियोगितालाई एसिया कपको तयारीको रूपमा लिएको छ । एसिया कप आगामी अगष्ट–सेप्टेम्बरमा पाकिस्तान र श्रीलङ्कामै हुनेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूह ‘ए’ मा छन् ।

समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचार