डेंगीको ‘हटस्पट’ बन्दै धरान, एक महिनामा चार जनाको मृत्यु

बिपी प्रतिष्ठानमा छुट्टै वार्ड सञ्चालन

असार दोस्रो सातादेखि डेंगी संक्रमितको संख्या ह्वात्तै बढेसँगै धरान अहिले डेंगी संक्रमणको ‘हटस्पट’ बनेको छ । गएको एक महिनामा मात्र धरानमा ३ हजार बढी मानिसमा डेंगी संक्रमण देखिएको छ भने चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जेठ २३ गते धरान १७ की ३० वर्षीया एक महिला, असार १५ गते धरान ११ की ४० वर्षीया एक महिला, साउन २ गते धरान ११ का ८० वर्षीय वृद्ध र धरान १८ की ८४ वर्षीया वृद्धा रहेका छन् ।

डेंगीको प्रकोप बढ्दै गएपछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा छुट्टै डेंगी वार्ड सञ्चालन भएको छ । धरान लगायत सुनसरी जिल्लाको वरपरका अन्य जिल्लाहरुमा व्यापक रुपमा डेंगी फैलिदै गएपछि नियन्त्रण तथा सर्वसाधारणले सहज रुपमा उपचार गराउन प्रतिष्ठानको कोभिड अस्पताल भवनमा ३० बेडको डेंगी वार्ड सञ्चालनमा ल्याएको प्रतिष्ठानका सह प्रवक्ता डा. चुरामणी पोखरेलले बताए ।

‘बिरामीको चाप अत्याधिक बढेको र इमेर्जेन्सी बेडहरू डेंगीका बिरामीले भरिभराउ भएपछि अन्य रोगका बिरामीहरूको उपचार पनि प्रभावित हुने देखियो । त्यसैले छुट्टै अस्पताल सञ्चालनमा ल्यायौं,’ सह प्रवक्ता डा. पोखरेलले भने ।

संक्रमितको चाप दिनौं बढ्दै गएपछि अस्पतालले अहिले बिरामीको स्थितिलाई हेरेर मात्र थप उपचारका लागि भर्ना गर्ने गरेको छ । सामान्य लक्षण भएका संक्रमितलाई आवश्यक परामर्श दिएर अस्पतालले घर पठाएको छ । थप उपचार गर्नुपर्ने अवस्था रहेको खण्डमा मात्र संक्रमितलाई इमेर्जेन्सीमा भर्ना गर्ने गरिएको र इमर्जेन्सीमा पनि संक्रमितको स्वास्थ्यमा थप जटिलता देखिए वार्ड र आइसियूमा सिफ्ट गरिने गरिएको डा. पोखरेलले बताए ।

प्रतिष्ठानमा दैनिक ३०–३५ जनामा डेंगी देखिने गरेको छ । धरान ११, १५, १७ र १८ मा डेंगीको प्रकोप बढी देखिन्छ । ती वडाबाट आएका बिरामीको सङ्क्रमण बढ्दा परीक्षण गरिएकाहरूमा ९० प्रतिशतसम्म सङ्क्रमण देखिएको छ ।

सम्बन्धित समाचार