इन्डोनेसियाको सुलावेसी टापुमा डुंगा डुब्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ । डुंगा आइतबार मध्यराति दुर्घटनामा परेको हो ।
१९ जना बेपत्ता रहेकोमा उनीहरुको खोजी भइरहेको इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले जनाएको छ । उद्धार गरिएका ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
‘डुंगामा करिब ४० जना यात्रु सवार रहेको बताइए पनि वास्तविक संख्या कति हो भन्ने खुलिसकेको छैन । दुई टोली बनाएर दुर्घटनास्थल आसपास खोजी भइरहेको छ,’ उद्धार एजेन्सीका प्रमुख मोहम्मद अराफाहले बताएका छन् ।
१७ हजारभन्दा बढी टापु भएको इन्डोनोसियाका टापुमा रहेका तालमा डुंगा दुर्घटना भइरहन्छन् ।