एएफसी कपको छनोट चरणमा मछिन्द्र फुटबल क्लबले ८ खेलाडीलाई टोलीमा आवद्ध गरेको छ । मछिन्द्र एफसीले राष्ट्रिय टोलीका ५ युवा खेलाडीसहित ८ खेलाडीलाई टोलीमा अनुबन्ध गरेको हो ।
मछिन्द्रले सोमबार पत्रकार सम्मेलन गर्दै क्लबमा एएफसी कपका लागि नयाँ खेलाडी अनुबन्ध गरेको जानकारी दिएको हो ।
मच्छिन्द्रले एएफसी कपको छनोटका लागि लिग च्याम्पियन चर्च ब्वाइजका आशिष चौधरी र मिडफिल्डर एरिक विष्टलाई टोलीमा अनुबन्ध गरेको छ । यस्तै रेलिगेसनमा परेको खुमलटारबाट विदेशी खेलाडी मेसुके ओलोमोउसँगै रेजिन सुब्बा र रोहित सुब्बालाई पनि टोलीमा राखेको छ ।
यो बाहेक राष्ट्रिय टोलीका मिडफिल्डर लाकेन लिम्बू, विंगर आयुष घलान र डिफेन्डर सनिश श्रेष्ठ पनि मछिन्द्रमा अनुबन्ध भएका छन् । उनीहरूलाई एएफसी कप छनोटसम्मका लागि टोलीमा अनुबन्ध गरेको क्लबका महासचिव तथा टिम व्यवस्थापक अनिल श्रेष्ठले बताए ।
एएफसी कपका लागि मछिन्द्रले माउन्ट एभरेस्ट स्पोट्र्सलाई टिकेटिङ पार्टनर बनाएको छ । खेलका लागि साधारणतर्फ २ सय र भीआईपीतर्फ ५ सय रुपैयाँ टिकट मुल्य तोकिएको छ । मच्छिन्द्रले एएफसी कप छनोटको प्लेअफ चरणको पहिलो खेलमा भुटानको पारो एफसीसँग खेल्दैछ ।
आगामी साउन २३ गते हुने खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । सो खेल मछिन्द्रले जितेमा साउन ३१ गते भारतको मोहन बगान सुपर जायन्टसँग खेल्नेछ ।
दुई खेल जिते मछिन्द्रले २२ अगष्टमा हुने प्लेअफको फाइनलमा क्लब इगल्स र ढाका अबहानीको विजेतासँग खेल्नेछ ।
लिगमा दोस्रो स्थान बनाएको मछिन्द्रले चर्च ब्वाइजसँग क्लब लाइसेन्स नभएका काण दोस्रो स्थानमा रहँदै एएफसी कप खेल्न पाएको हो ।
मछिन्द्रको टोलीः
गोलरक्षकः विशाल श्रेष्ठ, प्रदिप भण्डारी
डिफेन्डरः सनिश श्रेष्ठ, ओमोलाजा करीम, देवेन्द्र तामाङ, दिवाकर चौधरी, छिरिङ गुरुङ र सुरज विक
मिडफिल्डरः आन्द्रेस निया, एरिक विष्ट, लाकेन लिम्बु, दिपेश घले र उत्सव राई
फरवार्डः विमल घर्ती मगर, आशिष चौधरी, आयुष घलान, अफिज ओलावाले, मेसुके ओलोमोउ, सौरभ लिम्बु, अभिषेक गुरुङ, रोहित सुब्बा, रेजिन सुब्बा र विजय भुजेल ।