अनलाइन शिक्षाले बालबालिकाको आँखामा समस्या

अधिक समय ‘ग्याजेट’मा व्यस्त हुँदा बालबालिकामा आँखाको समस्या आउन सक्ने विषेशज्ञले चेतावनी दिएका छन् । कोरोना महामारीका कारण बालबालिका विद्यालय जान पाएका छैनन् । वैकल्पिक सिकाइ अन्तर्गत अनलाइन कक्षा लिन बाध्य छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डा. सञ्जीव भट्टराईले धेरै समय स्क्रिनमा बिताउनुपर्दा बालबालिकामा आँखाको समस्या आउने बताए । उनले भने, “अहिले धेरै बालबालिकाको ‘स्क्रिन टाइम’ बढिरहेको छ जसका कारण आँखामा धेरै समस्या देखापरिसकेको छ ।”

विशेषज्ञका अनुसार मोबाइल, कम्प्युटर, ल्यापटपमा लामो समयसम्म अध्ययन गर्दा आँखालाई आराम गर्ने समय हुँदैन र यस्ता स्क्रिनले हानिकारक किरण फाल्ने हुँदा बालबालिकाको आँखामा समस्या उत्पन्न हुन्छ ।

उनले आँखाभित्र आँसुलगायतको तरल पदार्थ सुक्दै जाने, सुक्खा हुने, पोल्ने, रातो हुने वा टाउको दुःख्ने समस्या आउने जानकारी दिए । बालबालिकाले धेरै समय स्क्रिन सामु बिताउँदा आँखा झिम्काउने पनि कम हुन्छ र त्यसले आँखा चिलाउने, पोल्ने समस्या हुनसक्छ । चिकित्सक डा. भट्टराईका अनुसार एक मिनेटमा १० देखि १२ पटक आँखा झिम्काउनुपर्छ । उनले सुझाव दिए, “२० मिनेट हेरेर २० सेकेन्ड आँखालाई आराम दिनुपर्दछ ।” मायोपिया भन्ने दृष्टिदोष देखिन सक्ने उनको भनाइ छ ।

अहिले धेरै बालबालिका घरमै ग्याजेट्ससँग बिताइरहेकाले आगामी दिनमा मायोपियाको समस्या झनै बढ्ने सम्भावना छ । मायोपियाको समस्या हुँदा बालबालिकालाई आँखा खुम्च्याएर हेर्ने, टाउको दुःख्ने, टाढाको वस्तु हेर्न गाह्रो हुन्छ ।

बाल आँखा विशेषज्ञ प्रा. डा. सविना श्रेष्ठले बालबालिकाको आँखालाई हरेक ६ महिनादेखि एक वर्षभित्र जचाइराख्नुपर्ने सुझाव दिए । घरभित्रै अनेक थरिका ग्याजेटमा समय बिताउन बाध्य हुँदा आँखामा दबाब पर्न सक्ने बताउँदै उनले सामुदायिकका भन्दा निजी विद्यालयका विद्यार्थीमा आँखाको समस्या बढी देखिएको बताए ।

अहिलेको अवस्थामा अनलाइन कक्षा नलिनू भन्न नमिल्ने बताउँदै डा. श्रेष्ठले थपे, “अनलाइन कक्षा नलिँदा शैक्षिक सत्र नै खेर जाने खतरा हुन्छ । त्यसैले कक्षा हुँदा कम्प्युटरमा बसे पनि त्यसपछिको समयमा विद्यार्थीलाई स्क्रिनबाट टाढा राख्नुपर्छ ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित समाचार