बंगलादेशमा यस वर्ष डेंगीका कारण मृत्यु हुनेको संख्या १ सय ८५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले मंगलबार जनाएको छ । संक्रमितको संख्या ३५ हजार २ सय ७० पुगेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको महानिर्देशनालयको तथ्यांकमा उल्लेख छ ।
गत सोमबारसम्मको तथ्यांकअनुसार यो महिनामा डेंगीबाट मृत्यु हुनेको संख्या १ सय ३८ पुगेको महानिर्देशनालयले पुष्टि गरेको छ ।
महानिर्देशनालयले सार्वजनिक गरेको तथ्यांकअनुसार गत महिना ५ हजार ९ सय ५६ जनामा डेंगीको संक्रमण देखिएको थियो । जुलाईको हालसम्म थप २७ हजार २ सय ९२ जनामा डेंगी देखिएको छ । यो अवधिमा ढाकामा १ हजार २ सय ३८ सहित दुई हजार २ सय ९३ जना नयाँ डेंगीका बिरामी फेला परेको बंगलादेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस वर्षको जनवरी १ देखि जुलाई २४ सम्म देशभरका विभिन्न अस्पतालबाट उपचार गराएर २७ हजार ६ सय २२ जना डेंगीका बिरामी घर फर्केका छन् ।
बंगलादेश सरकारले आधिकारिक रूपमा घोषणा नगरे पनि दक्षिण एसियाली स्वास्थ्य विज्ञहरूले त्यहाँ डेंगीले महामारीको रूप लिएको बताएका छन् । बंगलादेशमा यसअघिका वर्षमा अगस्ट र सेप्टेम्बरमा सबैभन्दा धेरै डेंगीका बिरामी अस्पताल भर्ना हुने गरेको तथ्यांक छ । पछिल्लो अवस्थाबारे पनि विज्ञहरूले चिन्ता व्यक्त गर्दै डेंगीले अझै जोखिम निम्त्याउन सक्ने भन्दै सचेत गराएका छन् ।
यसैबीच स्वास्थ्यविद्हरूले संक्रमणलाई नियन्त्रणमा लिन सरकारले महामारी घोषणा गर्नुपर्ने र रोकथामका लागि तत्कालै कदम चाल्नुपर्ने सुझाव दिएका छन् । साथै वरिष्ठ चिकित्सकसहित बंगलादेश मेडिकल एसोसिएसनले देशमा ‘स्वास्थ्य संकटकाल’ घोषणा गर्दै नयाँ कदम चाल्नका लागि सरकारलाई सुझाव दिएका छन् । डेंगीका कारण बंगलादेशका हजारौं बालबालिका प्रभावित भएको बताइएको छ । यससँगै आम समुदायमा रोगलाई लिएर त्रास फैलिएको छ । विशेषगरी राजधानी ढाकामा हरेक दिन मृत्युका खबरले सामाजिक सञ्जालमा महत्त्व पाएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सामाजिक सञ्जालमा मृत्युका खबर र तस्बिर तीव्र रूपमा आउनाले पनि आम समुदायमा रोगप्रति त्रास फैलिएको छ । विशेषगरी अभिभावकहरू बालबालिकाको सम्भावित अवस्थालाई लिएर चिन्तित बनेका छन् । सरकारी अधिकारीका अनुसार ७ हजार २ सय ४० जना १४ वर्षमुनिका बालबालिका डेंगीबाट संक्रमित भएका छन् । यसैबीच सहरी क्षेत्रमा ठूलो संख्यामा अभिभावकले आफ्ना बालबालिकालाई विद्यालय पठाउन रोकेका छन् ।