ताप्लेजुङ । जो कोहीलाई पनि दैनिक जीवनको चहलपहल र कोलाहलबाट केही दिन, केही समय टाढै बसौँ लाग्छ । प्रकृतिसित रमाउने सबैको रहर हुन्छ । प्रकृतिसित रमाउँदै पदयात्रा गर्ने इच्छा–चाहना कसको हुन्न र ? शान्त परिवेश खोज्दै हुनुहुन्छ भने ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५, पापुङस्थित लोदेन क्षेत्र तपाईंका लागि आकर्षक गन्तव्य हुनसक्छ । जहाँ विभिन्न जातीय संस्कार, संस्कृति र परम्परालाई बुझ्दै र अनुभव गर्दै पुग्न सकिन्छ ।
पापुङको प्रवेशद्वारका रूपमा रहेको साँवास्थित फुङफुङे झरनाको अवलोकन गर्दै पैदलयात्रा गरी पुगिने लोदेनमा दर्जनौँ पोखरी छन् । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट फुङफुङे झरनासम्म सवारीसाधन नियमित चल्छन् । उक्त झरनादेखि पैदलयात्रा गर्नुपर्छ ।
फुङफुङे झरनादेखि हिँडेपछि बेलुकी बास बस्न शेर्पा समुदायको बाक्लो बसोबास रहेको सिम्बुकमा पुगिन्छ । जहाँ शेर्पा समुदायको संस्कार र संस्कृतिलाई नजिकबाट अनुभव गर्न पाइन्छ ।
सिम्बुकमा होटेल छैन । तर, शेर्पा समुदायले त्यहाँ पुगेका पाहुनालाई जातीय परम्पराअनुसार स्वागत सत्कार गरी राख्छन् । परम्परागत शैलीमा बनाइएका घरभित्र ओछ्याइएका गलैँचाले जति न्यानो बनाउँछ, उति नै उनीहरूको जातीय स्वागत–सत्कारले हर्षित बनाउँछ । पुगेका पाहुनालाई स्थानीयले खादा ओढाएर स्वागत गर्छन् भने सबैभन्दा पहिले उक्त समुदायमा प्रचलित चिया अर्थात् (सोज्या) पटक–पटक थपेर खुवाउँछन् । ताप्लेजुङमा प्रचलित तोङ्वा, सुकुटीलगायत शेर्पा समुदायले खाने परिकार यहाँ पाइन्छ ।
यस्तै, उक्त समुदायमै प्रचलनमा रहेको (धुन्ज्याङ) अर्थात् परम्परागत नाचगान र खानपानसहितको स्वागत कार्यक्रममा समेत सहभागी भई रमाउन पाइन्छ । धुन्ज्याङ विशेष गरी पाहुनाको स्वागतका लागि भोटे तथा शेर्पा समुदायमा चलनमा छ ।
सिम्बुक बस्तीमा शेर्पा समुदायको संस्कार, संस्कृतिभित्र रमाएपछि यहाँबाट बिहानै लोदेनको यात्रा सुरु हुन्छ । सिम्बुकका प्रायः मानिसका गोठ लोदेनमै भएकाले लोदेनमा पुग्दा बास बस्न सहज हुन्छ । सिम्बुकबाट आवश्यक परे यहाँका मानिसले नै लोदेनसम्म पुर्याइदिन्छन् ।
सिम्बुकदेखि धेरैजसो खोला किनारैकिनार भएर झन्डै १० घण्टाको यात्रामा लोदेन खर्क पुगिन्छ । टेलिफोन, इन्टरनेटको पहुँचभन्दा बाहिरको यस क्षेत्रको यात्रा जो कसैका लागि अविस्मरणीय हुन्छ । कतै अग्ला पहाडका चुचुरा, कतै तराईका झैँ लाग्ने फाँट, छङछङ गर्दै बग्ने खोला, खोल्सा, हिमाली चराचुरुंगीको गुन्जन, वारिपारि देखिने सानाठूला झरना, सयौँ प्रजातिका वनस्पति र फूलले ढाकिएको प्रकृतिको सुन्दरताभित्र रमाउँदै यात्रा गर्दा प्रकृतिप्रेमीका लागि स्वर्गकै आभास हुने गर्छ ।
“दुर्गम हिमाली क्षेत्रको यात्रामा सावधानी अपनाउनुपर्छ,” यहाँ घुम्न आएका कास्कीको पोखराका रमेश गुरुङले भने, “उच्च क्षेत्रमा चिसो, लेक लाग्नेलगायत समस्या छन्, यसलाई ध्यानमा राखेर औषधि र बाक्लो लत्ताकपडा बोक्नुपर्छ ।”
भनेको ठाउँमा खाजा, खाना नपाइने, बिरामी भइहालेमा औषधि नपाइने भएकाले उक्त चुनौतीको सामना गर्न पूर्वतयारी गरेर यात्रा गर्नुपर्ने उनको भनाइ छ ।
सिम्बुकदेखि लोदेन खर्क नपुग्दासम्म हरेक एक घण्टाको दूरीमा प्रायः पाटीपौवा भेटिन्छन् । तिनै पाटीपौवामा आराम गर्दै साँझपख लोदेन खर्क पुगिन्छ । दिनभर हिँड्दाको थकान लोदेन खर्कको सुन्दरताले बिर्साइदिन्छ । दिनभर चरन क्षेत्रमा घुमेर गोठनजिकै पुगेर उभिएका याक र चौँरी देख्दा लाग्छ, आफूलाई नै स्वागत गर्न उभिएका होलान् । याक र चौँरीका गलामा रहेका घण्टी यताउति गर्दा टिङटिङ बजिरहेका हुन्छन् । तिनै पशुचौपायाको सुरक्षामा राखिने कुकुर भुकिरहन्छन् ।
“साँच्चिकै यो वातावरण लोभलाग्दो छ,” चितवनबाट घुम्न आएका विकास लामिछाने भन्छन्, “लोदेन क्षेत्रमा पशुपालकको आतिथ्यता सम्झिनलायक छ ।”
गोठमा तातोपानी खुवाएर उनीहरूले स्वागत गर्छन् । यहाँका गोठमा खान र बस्न पाइन्छ । गोठालासँगै बास बस्नुपर्ने हुन्छ । “उनीहरूसित बस्दाको मज्जा छुट्टै छ । यो क्षेत्र घुम्न लायक छ,” उनले भने ।
करिब चार हजार मिटरको उचाइमा पर्ने लोदेन क्षेत्रमा सानादेखि ठूला दर्जनौँ पोखरी छन् । सुनपोखरी, लामपोखरी, कुहिनेपोखरी अर्थात् (छ्योथांगा), हाँसपोखरीलगायत पोखरीको यहाँ अवलोकन गर्न पाइन्छ ।
पोखरी आसपासमा केन्जो अर्थात् पदमचाल पनि छ । यहाँका पशुपालकले नै यो क्षेत्रमा घुम्न सहयोग गर्छन् । हिमाली क्षेत्रमा पाइने धुपीसल्ला, सुनपाती, भैरुङपातीको सुगन्ध त छँदै छ, तिनै पशुपालकले यार्सागुम्बा संकलनको अनुभव समेत सुनाउँछन् ।
सुनपोखरीबाट लामपोखरीतर्फ जाँदा ताप्लेजुङस्थित पाथीभरा, मानाभारा, लुम्बासुम्बा, तोक्पेगोलाको तीनपोखरी रहेको क्षेत्र समेत नियाल्न पाइन्छ । पापुङ जिल्लाको सबैभन्दा धेरै पोखरी रहेको क्षेत्र हो ।
पापुङका उच्च क्षेत्रहरू पोखरीले भरिभराउ छन् । जति जति घुम्यो, उति नै सानाठूला पोखरीको अवलोकन गर्न पाइने स्थानीय पानदोर्जी शेर्पाले बताए ।
सोदुपोखरी र भूतपोखरी पनि पापुङमै अवस्थित छन् । सयजरा, जटामसी, बिखमा, यार्सागुम्बालगायत जडीबुटी र विभिन्न जातका धुपी यहाँ पाइन्छन् ।
लोदेन हुँदै फक्ताङलुङ गाउँपालिकामा पर्ने ओलाङचुङगोला जान सकिन्छ । लोदेन क्षेत्रमा उत्पादन हुने दूधजन्य पदार्थ, जडीबुटी ओलाङचुङगोला हुँदै तिब्बत निर्यात हुने गरेको छ । यसरी सयौँ पोखरीले भरिभराउ पापुङ क्षेत्रको प्रचारप्रसारसँगै यहाँ पुग्न आवश्यक भौतिक संरचनाको निर्माण गर्न सके पर्यटकको आगमन बढ्ने स्थानीय बताउँछन् ।
लोदेनसहित पापुङमै पर्ने तोक्पेगोलासहितका क्षेत्र पर्यटकलाई आकर्षित गर्ने पर्यटकीय क्षेत्रका रूपमा देखिए पनि प्रचारप्रसार र भौतिक संरचनाको अभावले गुमनामजस्तै बनेको पर्यटन प्रवर्द्धनमा सहयोग गर्दै आएका हेमराज निरौलाले बताए । निरौला लोदेनसहितका जिल्लाका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा केही वर्षयतादेखि निरन्तर लाग्दै आएका छन् ।
“प्रचारप्रसार पनि पर्यटन प्रवर्द्धनको मुख्य पाटो रहेछ, पटक–पटक पापुङमा पुग्दा प्रचारप्रसारका गतिविधि चलाइयो । आजकल थुप्रै आन्तरिक पर्यटक घुम्नकै लागि जान थालेका छन् । तर, प्रचारप्रसारले मात्र पुग्दैन, पैदलमार्गको निर्माणसँगै अन्य भौतिक संरचना निर्माणमा सबै निकायले ध्यान दिन आवश्यक छ,” निरौलाले भने ।
पापुङ पोखरी नै पोखरी भएको क्षेत्र भएकाले यसलाई मुलुकै नमुना पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने मिक्वाखोला गाउँपालिकाका उपाध्यक्ष डण्डु शेर्पाले बताए । गुमनाममा रहेको पापुङ केही वर्षदेखि केही प्रचारप्रसारमा आएको उल्लेख गर्दै उनले यहाँको विकासमा संघ र प्रदेश सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
गाउँपालिकाभित्र फुङफुङे झरनासहितका थुप्रै पर्यटकीय क्षेत्र भएकाले स्थानीय सरकारले आफ्नो क्षमताअनुसारका गतिविधि गर्दै आएको र संघीय सरकारसँग समेत पर्यटन प्रवर्द्धनका लागि छलफल भइरहेको उनले बताए ।
प्रायः शेर्पा समुदायको बसोबास रहेको हिमाली क्षेत्र पापुङ प्राकृतिक, सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण भएकाले पर्यटन प्रवर्द्धनमा यस क्षेत्रले सहयोग पुग्ने स्थानीयवासीको विश्वास छ ।
पशुपालन व्यवसाय समेत यो क्षेत्रमा उल्लेख्य छ । पशुपालनसँगै जडीबुटी संकलन तथा व्यापार यस क्षेत्रका मानिसको मुख्य पेसा हो । दुर्गम क्षेत्रका रूपमा लिइँदै आएको पापुङको तोक्पेगोला पुग्न सदरमुकामबाट दुई दिनको समय लाग्छ । यहाँबाट लोदेन पुग्न दुई दिन लाग्छ ।