बाँकेकी प्रेसु मिस टिन इन्डियाको ग्रान्ड फिनालेमा

बाँकेकी एक किशोरी भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने एली क्लब मिस्टर एन्ड मिस टिन इन्डियाको ग्रान्ड फिनालेका लागि छनोट भएकी छन् ।

नेपालगन्ज निवासी १७ वर्षीय प्रेसुसिंह थारूले भारतको कानपुरमा पहिलो अडिसन र नयाँ दिल्लीमा भएको सेमिफाइनल चरण पार गर्दै ग्रान्ड फिनालेमा स्थान बनाउन सफल भएको उनकी आमा यामु बुढाक्षेत्रीले बताइन् । ग्रान्ड फिनाले आगामी भदौ २ गते नयाँ दिल्लीमा आयोजना हुने छ । त्यसअघि करिब एक साताको बन्द प्रशिक्षण सञ्चालन हुने छ ।

नेपालगन्जको आदर्श माविमा अध्ययनरत प्रेसु सानैदेखि नृत्यमा सोखिन थिइन् । उनी नेपालगन्जमा भएको नेपालगन्ज रन वे सिजन–२ मा मोस्ट ब्युटिफुल र बेस्ट ड्रेसको अवार्ड जित्न सफल भएकी थिइन् । प्रेसुसिंहले मिस टिन इन्डियाको ग्रान्ड फिनालेका लागि छनोटमा परेपछि आफू निकै उत्साहित भएको जनाउँदै घरपरिवारको साथ र सहयोगकै कारण विभिन्न प्रतियोगिता र इभेन्टमा सहभागी हुने र सफलता पाउने गरेको बताइन् ।

सम्बन्धित समाचार