ओलीले राजीनामा नगरेपनि उनी पदमुक्त भएको वरिष्ठ अधिवक्ता खरेलको दाबी

‘संसद पुनर्स्थापना गरेर मात्र हुन्न, देउवालाई नियुक्तिको आदेश हुनुपर्छ’

वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक रुपमा राजीनामा नगरेपनि उनी पदमुक्त भएका दाबी गरेका छन् । आइतबार संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि बहस गर्दै अधिवक्ता खरेलले यस्तो बताएका छन् ।

उनले प्रधानमन्त्री ओलीले संवैधानिक रुपमा पदमुक्त भएको जिकिर गर्दै भने, ‘शेरबहादुरले आफ्नो दाबीलाई पुष्टि गरेको देखिन्छ । धारा ७६ (५) अनुसार विश्वासको मत पाउन सकिने एउटा आधार भनेको दलका सदस्यहरुको सहमति लिएर दलको नेता जान सक्छ तर, सांसदहरुको सहमतिबिना दलको नेता राष्ट्रपतिकहाँ जान मिल्दैन ।’

ह्वीप उल्लंघन गरेर दिएको भोटको मान्यता हुँदैन भनेर विश्वका कुनै पनि संविधानले नभनेको खरेलले बताए । उनले भने, ‘ह्वीप उल्लंघन गरेर दिएको भोटले मान्यता पाएका पर्याप्त उदाहरण छन् ।’

उनले यो मुद्दामा प्रतिनिधिसभा पुनर्स्थापना गरेर मात्र नपुग्ने भन्दै देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश पनि हुनुपर्ने बताएका छन् । उनले देउवाले बहुमत सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष दावी गरेकाले उनलाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्ने बताएका हुन् ।

‘आदेश जारी गर्दा प्रतिनिधि सभा पुनर्स्थापना गरेर बाँकी संसदमै हुन्छ भनेर हुँदैन । अहिलेसम्म बहुमत कायम राखेका देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश हुनुपर्छ र यो अनिवार्य छ । किनभने ओलीले पटक पटक संवैधानिक दायरा नाघिसक्नुभएको छ’ उनले भने ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार