प्रिमियर लिगको नयाँ सिजनमा चेल्सी र लिभरपुलबीचको खेल रोमाञ्चक बराबरीमा सकिएको छ । आइतबार साँझ भएको खेल १–१ को बराबरीमा टुङ्गिएपछि दुवै टोलीले अङ्क बाँड्न बाध्य बनेका हुन् ।
खेलको सुरुवातमा नियन्त्रण बनाएको लिभरपुलका लागि मोहमद शालाहको प्रहार पोस्टमा लागेको थियो । त्यसपछि उनैको पासमा लुइस डियाजले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए ।
नयाँ म्यानेजर माउरिसियो पोचेटिन्होको नेतृत्वमा पहिलोपटक प्रिमियर लिग खेलिरहेको चेल्सी त्यसपछि भने खेलमा फर्कियो । खेलको ३७ औँ मिनेटमा नयाँ खेलाडी एक्सल डिसासीले गोल गर्दै खेल बराबरी गरे ।
दुवै टोलीले त्यसपछि पनि गोलका लागि थुप्रै अवसरहरू सिर्जना गरे पनि विजयी गोल भने गर्न सकेनन् । लिभरपुलका गोलकिपर एलिसनले बेन चिलवेल र निकोलस ज्याकसनको प्रहार रोकेका थिए ।