अहिले गर्मीको मौसम छ । धुवाँ धुलो प्रदुषित वातावरणले अनेका प्रकारका स्वास्थ्य समस्या देखा परिरहेका छन् । यस्ता समस्या मध्ये आँखाको समस्या धेरैमा हुने गरेको छ । आँखाका समस्या पनि अनेक प्रकारका देखिएका छन् । जसमध्ये आँखा पाक्ने समस्या सबै भन्दा बढी हुने गरेको छ ।
केही दिनयता देशका विभिन्न ठाउँमा आँखा पाक्ने रोग फैलिरहेको छ । चिकित्सकीय भाषामा आँखा पाक्ने रोगलाई ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ पनि भनिन्छ । हरेक बर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिन्छ । तर, यसवर्ष भने धेरै ठाउँमा प्रकोपको रुपमा समस्या देखिएको छ ।
आँखा पाक्ने रोग सरुवा रोग हो । आँखाको सेतो भागमा कुनै पनि संक्रमण हुँदा aआँखा पाक्छ । संक्रमित आँखामा जिवाणुहरूको छिटो प्रवेश हुन्छ । समयमै सावधानी नअपनाए आँखामा गम्भीर समस्या पर्नसक्छ ।
आँखा पाक्ने रोगका लक्षण यस्ता छन् :
- आँखा रातो हुने ।
- आँखा बिझाउने र चिलाउने ।
- आँशु बग्ने ।
- आँखाका परेलाहरु सुन्निने ।
- आँखाको डिल सुनिएर हेर्न समस्या हुने ।
- संक्रमण भएको केही दिनपछि दृष्टि धमिलो हुने ।
बच्ने उपाय
- आँखालाई सधै स्वस्थ राख्न सम्भव भएसम्म स्वच्छ वातावरणमा बस्ने ।
- धुवाँ धुलोबाट बच्ने ।
- आँखा बढी नमाड्ने ।
- पोसिलो खाना खाने ।
- आँखा पाकेका व्यक्तिले प्रयोग गरेको तौलिया तथा लुगा, ओछ्यान प्रयोग नगर्ने ।
- आँखामा समस्या आए अनुमानको भरमा औषधि प्रयोग नगर्ने ।
- आँखामा कुनै पनि समस्या या लक्षण देखिए तुरुन्त विशेषज्ञद्वारा परीक्षण गराउने ।
उपचार
- सामान्य देखिएको आँखा अकस्मात् रातो देखिएमा आँखामा केही समस्या छ भन्ने बुझ्नुपर्छ । एक्कासि आँखा रातो हुनु भनेको आँखा पाक्ने लक्षण हुन सक्छ । यस्तो लक्षण देखिनासाथ चिकित्सककहाँ जानुपर्छ ।
- आँखाको डिल सुनिएर हेर्न समस्या भयो भने आँखा पाकेको हुन सक्छ । यस्तो हुन नदिन आँखाको सरसफाइमा अत्यधिक ध्यान दिनुपर्छ ।
- आँखा पाकेको वेला आँखाबाट पानी बगिरहन सक्छ । साथै, कहिलेकाहीँ रगतजस्तो पानी पनि निस्कन सक्छ । यस्तो वेला नडराईकन संयम अपनाउनुपर्छ ।
- आँखा पाक्ने रोग सरुवा भएकाले अरूलाई सर्न नदिन बिरामी तथा आफन्तले पनि विशेष सजगता अपनाउनुपर्छ । घरबाहिर हिँड्दा चस्माको प्रयोग अनिवार्य गर्नुपर्छ, बिरामीले प्रयोग गरेको रुमाल अन्यले प्रयोग गर्नुहुँदैन ।
- बिरामीको नजिकै बसेर कुरा गर्दा हावाको माध्यमबाट रोग सर्ने भएकाले विशेष ध्यान दिनुपर्छ । सकेसम्म बिरामीको नजिक बसेर कुराकानी गर्नुहुँदैन ।
- आँखा पाक्ने समस्या हुने बिरामीले पानी प्रशस्त पिउनुपर्छ । सीधै घाममा हेर्नुहुँदैन । गर्मी मौसममा सीधै घाममा हेर्दा पनि आँखा पाक्ने समस्या आउन सक्छ
- कम्तीमा दिनको चारपटक हात, मुख र आँखा सफा गर्नुपर्छ । घरको कुनै व्यक्तिलाई आँखासम्बन्धी समस्या भए सबै परिवारले संयम अपनाउनुपर्छ ।