राफाइल भारेनको गोल प्रेरणाबाट म्यानचेस्टर युनाइटेडले उल्भरह्याम्पटनलाई १–० ले हराउँदै इङ्लिस प्रिमियर लिगको यस सिजनमा सुखद सुरुवात गरेको छ ।
यस सिजन सुरु हुनुभन्दा एक हप्ताभन्दा कम समय बाँकी रहेको अवस्थामा वुल्भ्सका प्रशिक्षक युलेन लोपेटेगुईले क्लब छाडेका थिए । तर, क्लबका नयाँ प्रशिक्षक भित्रिएको केही समयमा उल्भरह्याम्पटन युनाइटेडको मैदान ओल्ड ट्राफोर्ड घरेलु टोलीविरुद्ध दबाब बनाउन सफल भयो ।
वुल्भ्सले अवसर पाए पनि सदुपयोग गर्न सकेन । युनाइटेडका नयाँ गोलकिपर आन्द्रे ओनानाले पनि पाहुना टोलीको आक्रमण सफल हुन दिएनन्। खेल सकिन १४ मिनेट बाँकी छँदा भारेनको गोल नै निर्णायक बन्न पुग्यो । ओनानाले बल नियन्त्रणमा लिने क्रममा सासा कलाडजिचलाई पन्च गर्ने गरे पनि निर्णय वुल्भ्सको पक्षमा आएन ।
‘युनाइटेडका गोलकिपर हाम्रो फरवार्ड टाउकोमा पुगेका थिए,’ वुल्भ्सका प्रशिक्षक ग्यारी ओ निलले भने, ‘मलाई लाग्छ त्यो फाउल थियो। जब बल नियन्त्रण लिन जाँदा खेलाडीमाथि त्यसरी लाग्छ भने त्यो पेनाल्टी हो ।’ ओ निलले प्रिमियर लिगका रेफ्री प्रमुख जोन मोसले खेलपछि आफूलाई सम्पर्क गरेको र उक्त निर्णयप्रति माफी पनि मागेको बताएका थिए । यद्यपि, खेलमा युनाइटेडले म्यानचेस्टर प्रतिद्वन्द्वी सिटीसँगै सुखद सुरुआत गरेको छ । १२ महिनाअगाडि दुई हारबाट सुरुआत गरेका युनाइटेडका प्रशिक्षक इरिक टेन हागले यस पटक भने जित निकाल्न सफल भएका छन् ।