सिरियाली राष्ट्रपति बसर अल असदले सरकारले इन्धनको मूल्यमा चर्को वृद्धि गरेपछि सबै कर्मचारीहरुको तलब बढाउन आदेश दिएका छन् ।
मंगलबार सिरियाली सरकारले इन्धनको मूल्यमा तीव्र वृद्धि गरेसँगै राष्ट्रपतिले कर्मचारीहरुको तलब शतप्रतिशत बढाउन आदेश दिएका हुन् । राज्यका कर्मचारी, सेवानिवृत्त कर्मचारी र अन्य सैनिकहरुका लागि सन् २०११ पछि नवौँ पटक तलब वृद्धि भएको हो ।
अहिले सिरियाको आर्थिक अवस्था संकटमा छ। यो निर्णय हुनुअघि निजामती कर्मचारीको मासिक तलब १० देखि १५ अमेरिकी डलरसम्म थियो । सिरियाली आन्तरिक व्यापार र उपभोक्ता संरक्षण मन्त्रालयले सवारीसाधन र बेकरीका लागि डिजलको मूल्यमा लगभग १८० प्रतिशत र पेट्रोलको मूल्य लगभग १६५ प्रतिशले बढाएको छ ।
इन्धनको मूल्यवृद्धिका कारण बुधवार धेरै बस चालकहरु काममा नगएपछि सडकमा यात्रु अलपत्र परेका थिए । इन्धनको मूल्यवद्धिका कारण खाद्य चक्रमा पनि असर पुगेको छ। खाद्य सामग्रीको मूल्य ३० देखि सय प्रतिशतसम्मले बढेको छ ।