रुसी सेनाविरुद्ध गत जुनमा विद्रोहको प्रयास गरेका रुसको निजी अर्धसैनिक समूह ‘द वाग्नर ग्रुप’ का प्रमुख यभगेनी प्रिगोजिन विमान दुर्घटना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । दुर्घटनाग्रस्त विमानमा सवार सबै १० जनाको मृत्यु भएको रुसको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
वाग्नर समूहसँग जोडिएको सामाजिक सञ्जालले उनको निजी विमानलाई रुसी वायु सुरक्षाले खसालेको दाबी गरेको छ । ग्रे जोन टेलिग्राम च्यानलले पोस्ट गरेको भन्दै बीबीसीले लेखेको छ, ‘रूसका देशद्रोहीहरूको कार्यको परिणामस्वरूपु प्रिगोजिनको मृत्यु भयो ।’ प्रिगोजिनको विमान रुसको तेवेर शहरमा दुर्घटना भएको हो ।
वाग्नर भाडाका सैनिकहरुको समूह हो । यो समूहका लडाकुहरु पैसाका लागि लड्छन् । रुसले वाग्नरलाई युक्रेनविरुद्ध लड्न खटाएको छ ।
युक्रेन विरुद्धको लडाइँमा रुसी सेनाले आफूहरुलाई पर्याप्त हतियार नदिएको भन्दै वाग्नर समूह असन्तुष्ट थियो । यसअघि गत जुन महिनामा आफ्ना असन्तुष्टिका बीच वाग्नर समूह युक्रेनबाट फर्किएर रुसकै रोस्तोव शहर कब्जा गरेर बसेको थियो । आफ्ना कुराको सुनुवाइ नभए राजधानी मस्को कब्जा गर्ने धम्की दिएपछि रुसमा हलचल मच्चिएको थियो । तर पछि वाग्नर समूह पछि हटेको थियो । रक्तपात रोक्नका लागि विद्रोह स्थगित गरेको भन्दै प्रिगोजिन बेलारुस गएका थिए ।
त्यतिबेला वाग्नर समूहको विद्रोहको धम्की सार्वजनिक भएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसलाई धोका दिने हरेक व्यक्तिले दण्ड सजाय भोग्नुपर्ने चेतावनी दिएका थिए ।