एमबाप्पे टाइब्रेकरमा चुक्दा फ्रान्स बाहिरियो, स्विट्जरल्याण्ड क्वाटरफाइनलमा

युवा फरवार्ड किलीयन एमबाप्पेले टाइब्रेकरमा गोल गर्न नसक्दा विश्वकप विजेता फ्रान्स स्विट्जरल्यान्डसँग टाइब्रेकरमा ५-४ ले पराजित हुँदै युरोपेली च्याम्पियनसिप २०२० बाट बाहिरिएको छ ।

बुकारेस्टमा सोमबार भएको राउन्ड अफ १६ को खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा सकिएपछि खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो । स्विट्जरल्यान्ड भने जितसँगै क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्विट्जरल्याण्डले ६७ वर्षयता ठूलो प्रतियोगितामा नकआउट चरणको खेल जितेको यो पहिलो पटक हो ।

पहिलो हाफमा औसत प्रदर्शन गरेको फ्रान्स हरिस सेफेरोभिचको गोलमा पछि परेको थियो । उक्त गोलमा गल्ति गरेका डिफेन्डर क्लेमेन्ट लेंगलेटलाई दोस्रो हाफमा परिवर्तन गर्दै आक्रामक रणनीति अपनाएको थियो ।

बेन्जेमाले दुई मिनेटको अन्तरमा दुई सानदार फिनिस गरेपछि फ्रान्स खेलमा अघि बढेको थियो । पोग्बाले त्यसपछि विश्वस्तरीय गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारेका थिए । तर सेफेरोभिचले व्यक्तिगत दोस्रो हेडर गोल गर्दै फ्रान्सलाई सहज रुपमा खेल्ने अवसर दिएन । ग्रभानोभिचले अन्तिम मिनेटमा गोल गर्दै खेल अतिरिक्त समयमा धकेलेका थिए । अतिरिक्त समयमा गोल हुन नसक्दा खेलको नतिजा टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा पहिलो प्रहार गरेको स्विट्जरल्यान्डका लागि मारिओ ग्राभानोभिच, फाबियन सेर, म्यानुएल अकान्जी, रुबेन भार्गास र आदमिर मेहमेदी सबैले गोल गर्न सफल भएका थिए । फ्रान्सका लागि पल पोग्बा, ओलिभिएर जिरुड, मार्कस थुराम र प्रेस्नेल किम्पेम्बे लगातार सफल हुँदा पाँचौ प्रहार गर्न आएका किलीयन एम्बाप्पेको प्रहारलाई गोलरक्षक यान सोमरले विफल पारेका थिए ।

स्विट्जरल्यान्डले युरो इतिहासमा पहिलो पटक नकआउट चरणको खेल जितेको हो । यससँगै स्विट्जरल्यान्डले क्वाटरफाइनलमा स्पेनको सामना गर्नेछ ।

सम्बन्धित समाचार