एसिया कप २०२३ अन्तर्गत नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको छ।
श्रीलंकाको पल्लेकेले मैदानमा टस जितेको भारतले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४८.२ ओभरमा २३० रनमा अलआउट भयो।
नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भए । उनी ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए । उनी एसिया कपमा तथा भारतविरूद्ध अर्धशतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बने ।
अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए । शार्दूल ठाकुरको बलमा दशौं ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का हिर्काए । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए ।
दिपेन्द्र सिंह ऐरी २९ र गुल्सन झा २३ रन बनाएर आउट भए । सन्दीप लामिछाने ९, भीम सार्की ७, कप्तान रोहितकुमार पौडेल ५ र कुशल मल्ल दुई रनमै आउट भए भने करण केसी २ रनमा अविजित रहे ।