नेपाली राष्ट्रिय क्रिकेट टिमले अबको दुई महिनामा दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दैछ। असोजमा चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा नेपाली क्रिकेट टिमले भाग लिँदैछ भने कात्तिक मा आइसिसी टी २० विश्वकप २०२४ को एसिया छनोट खेल्दैछ । ती दुवै प्रतियोगिता टी-२० फर्म्याटमा सञ्चालन हुँदैछन्।
नेपाली राष्ट्रिय क्रिकेट टिमको अहिले देश विदेशमा प्रशंसा भइरहेको छ। एसिया कपमा नेपालले क्रिकेटका शक्ति राष्ट्रद्वय भारत र पाकिस्तानसँग हारे पनि नेपालले निडर प्रदर्शन गरेको भन्दै अहिले प्रशंसा भइरहेको हो।
चीनको हाङझावमा एसियाली खेलकुदको क्रिकेटतर्फको प्रतिस्पर्धा असोज १० देखि सुरू हुँदैछ। प्रतियोगिताको पुरुषतर्फ नेपाल समूह ‘बी’ मा परेको छ। समूहमा नेपालसँगै जापान र मंगोलिया छन्।
समूह विजेता बने नेपाल क्वार्टरफाइनल पुग्नेछ। क्वार्टरफाइनलमा चार टिमले स्थान पक्का गरिसकेका छन्।
टेस्ट राष्ट्रहरू भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशलाई सिधा अन्तिम आठमा स्थान दिइएको हो। चारै टिमले एसियाली खेलकुदका लागि सिनियर टिमलाई पठाउनेछैनन्।
एसियाली खेलकुदमा समूह विजेता बनेको अवस्थामा नेपालले उल्लेखित चार मध्ये एक टिमसँग अन्तिम आठमा भिड्नेछ।
यस्तै कात्तिक १३ देखि नेपालले घरेलु मैदानमा आइसिसी टी-२० विश्वकप २०२४ को एसिया छनोट खेल्दैछ। छनोटमा नेपालसँगै युएई, ओमान, हङकङ, सिंगापुर, बहराइन, साउदी अरेबिया र मेलसिया भिड्दैछन्।
यसपटकदेखि क्षेत्रीय छनोटबाटै टी-२० विश्वकपका लागि सिधा छनोट हुने प्रावधान छ। यो छनोटको शीर्ष दुईमा पर्ने टिमहरू अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुनेछन्।
नेपाल घरेलु मैदानमा आठ टिम मध्ये शीर्ष दुईमा परे १० वर्षपछि टी-२० विश्वकप खेल्नेछ।
नेपालले पहिलो पटक २०१४ मा टी-२० विश्वकप खेलेको थियो। त्यसयता नेपाल विश्व छनोटमा असफल हुँदै आएको छ। यसपटक घरेलु मैदानमा राम्रो प्रदर्शन गरे नेपालले १० वर्षपछि विश्वकप खेल्ने अवसर पाउनेछ।