गायक प्रकाश सपुतले दुई वर्षअघि सार्वजनिक ‘कुरा बुझ्न पर्च’को दोस्रो भाग ल्याएका छन् ।
उनले समीक्षा अधिकारीको स्वरमा ‘जाले रुमाल फाट्यो’ सार्वजनिक गरेका हुन् ।
शनिबार राती सार्वजनिक गीतले युट्युबमा राम्रो भ्युज पाइरहेको छ । आइतबार दिउँसोसम्म भिडियो युट्युब ट्रेन्डिङको शीर्ष २ नम्बरमा आइपुगेको छ ।
गीतमा प्रकाशकै शब्दरसङ्गीत छ । भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का, आँचल शर्मा, अभिनेता गौरव पहारी, विशाल पहारीका साथमा प्रकाश स्वयंमले अभिनय गरेका छन् ।
‘कुरा बुझ्न पर्च’मा प्रकाशले छोरीहरूको सोच र आत्मविश्वासलाई रमाइलो तरिकाले गरेका थिए । लैङ्गिक समानताको कुरा गीतमा उठाइएको थियो । यसपटक ‘जाले रुमाल फाट्यो’मा हरेक प्रकारका विभेद अन्त्यका लागि कानुन प्रभावकारी हुनुपर्छ भन्ने कुरा उनले उठान गरेका छन् ।
विषय, प्रस्तुति र निर्देशकीय हिसाबले यो गीत आफ्नो लागि विशेष रहेको प्रकाशले बताएका छन् ।
उनकै कथा, निर्देशन एवं निर्माण रहेको भिडियोलाई नवराज उप्रेतीले छायांकन, प्रविन भट्टले सम्पादन गरेका हुन् ।