प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको उजुरी परेको पाँच वर्षभित्र कारबाही हुनुपर्ने गरी विधेयक पास गर्न नदिइएको बताएका छन् ।
आइतबार वसन्तपुरमा ज्यापु दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूहरुले भ्रष्टाचारको मुद्दामा पाँच वर्षभित्र कारबाही गरिसक्नुपर्ने आवाज उठाए पनि ऐन पास गर्न नदिइएको बताए ।
उनले भ्रष्टाचारको उजुरी परेको कहिलेसम्म कारबाही चलाउने भन्ने व्यवस्था नरहेकाले ढिलोमा ५ वर्षभित्र कारबाही गर्नैपर्ने गरी व्यवस्था गर्न लागेकोमा जननिर्वाचित प्रतिनिधिहरुबाट अस्वीकार भएको बताए ।
“अस्ति ऐन एउटा हामीले बिगारेरै पास गर्नुपर्यो । के बिगार्नुपर्यो भने भ्रष्टाचारमा उजुरी परेको कहिलेसम्ममा कारबाही चलाउनैपर्ने भन्ने केही छैन,” उनले भने ।
उनले अब उजुरी अल्झाएर ५०औँ वर्षसम्म पनि मुद्दा चलाउनु नपर्ने गरी विधेयक बनाइएको सुनाए । भ्रष्टाचारको उजुरी परेपछि तत्काल कारबाही हुुनुपर्नेमा उनले जोड दिए ।
भ्रष्टाचारको उजुरी परेपछि तत्काल कारबाही हुनुपर्ने उनको भनाइ थियो । कथंकदाचित ढिलो भए पनि ५ वर्षभित्र त्यसको छिनोफानो भएको हुनुपर्ने र लम्ब्याएर त्यत्तिकै छोडिदिन नपाइने व्यवस्था राखिनुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता भाँड्नका लागि पनि हल्ला चलाइने गरेको भन्दै सचेत रहनुपर्ने बताए । सरकार देशमा सुशासन कायम गर्ने, विकासको बाटोमा लैजाने दिशामा अघि बढिरहेको बताए ।