ललितपुर महानगरका ५ ठाउँमा जोडियो नेपालकै पहिलो ‘इन्टिलिजेन्ट ट्राफिक लाइट’

Image

ललितपुर महानगरले इन्टेलिजेन्स ट्राफिक लाइट सोमबारदेखि औपचारिक रुपमा सञ्चालनमा ल्याएको छ । महानगरका प्रमुख चिरीबाबु महर्जनले पुल्चोकस्थित महानगर कार्यालय अगाडिको चोकमा राखिएको लाइटको स्विच अन गरेर उक्त लाइटको उद्घाटन गरे ।

इन्टेलिजेन्स प्रणालीमा आधारित यी लाइटले जता धेरै सवारीसाधनको संख्या छ, त्यतैतिर हरियो बत्ती बाल्छन् । ललितपुर महानगरले कुपण्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा यस्ता लाइट जडान गरेको हो ।

पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँचवटा लाइट जडान गरिएको शहरीविकास योजना महाशाखा प्रमुख तथा यो परियोजनाको प्रमुख डिभिजनल इन्जिनियर श्रीकुमार महर्जनले जानकारी दिए । लाइटसँगै राखिएको भेइकल डिटेक्टर मेसिनले सडकमा सवारीसाधनको संख्या तत्काल रिड गरेर तत्कालै ट्राफिक लाइटको चिप तथा सर्भरलाई जानकारी गराउँछ । सोही आधारमा सिस्टमले जता धेरै सवारीसाधन छन् त्यतातिर हरियो बत्ती बाल्छ ।

कार्यालय समयमा काठमाडौं तर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३०–५० सेकेन्ड मात्रै पर्खे पुग्ने उनले बताए । महानगरका प्रमुख चिरीबाबु महर्जनले ट्राफिक व्यवस्थापन गर्न यो लाइट जोडिएको बताउँदै यो नेपालमै पहिलो भएको धारणा राखे ।

‘यो लाइट स्वचालित भएकाले अन्य परम्परागत ट्राफिक लाइटभन्दा फरक र सजिलो छ  । योसँगै राखिएको भेइकल डिटेक्टरले सवारीसाधनको नम्बर तथा विवरण रिड गर्छ,’ उनले भने, ‘सिस्टमले नै कुन दिशातर्फ कति टाइमिङ चाहिने हो, आफैं सेट गर्छ । हाल यसको मनिटरिङ सिस्टम ट्राफिक कार्यालयमा राखिएको छ ।’

ट्राफिक लाइट प्राविधिक सुयोषक्त माथेमाका अनुसार यो लाइट फिक्स, पुलिस म्यानुअल, सिंक्रोनाइजेसन, एटीसीएस लगायत आवश्यकता अनुसार मोडमा प्रयोग गर्न सकिन्छ । यसमा पाँच वर्षसम्म डेटा स्टोर हुन्छ । यो लाइटले सवारीसाधन र दुर्घटनाको रेकर्ड समेत राख्छ ।

नगर प्रमुख महर्जनका अनुसार नयाँ सिस्टम भएकाले जनचेतना आवश्यक छ । जनचेतना जगाउनका लागि नगर प्रहरी र स्कुलका विद्यार्थीलाई महानगरले परिचालन गर्ने उनले बताए । नगर प्रमुख महर्जनले अर्को वर्ष चक्रपथ बाहिरका वडाका प्रमुख सडकमा पनि यो ट्राफिक लाइट जडान गर्ने जानकारी दिए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता उपरीक्षक सञ्जयबहादुर राउतलेप्रविधि मैत्री नहँदा धेरै जनशक्ति सडकमा खटिनु परेको बताए । ६४ स्थानमा टाफिक लाइट भएपनि विभिन्न कारणले ३५ स्थानमा मात्रै सन्चालनमा रहेको जानकारी दिए ।

बागमती प्रदेशका श्रम मन्त्री प्रेमभक्त महर्जनले ट्राफिक व्यवस्थापन पालिकाको मात्रै नभएर प्रदेशको नै समस्या भएको बताए । ट्राफिक व्यवस्थापनका लागि ललितपुर महानगरले जडान गरेको इन्टिलिजेन्ट ट्राफिक लाइट महत्वपूर्ण फड्को भएको बताए ।