मीनबहादुरले दिएको जग्गामा एमालेको पार्टी कार्यालय बनाउने बाटो खुल्यो

Image

नेकपा एमालेलाई भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरूङले पार्टी कार्यालय बनाउन दिएको जग्गा दानविरूद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सोमबार न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको इजलासले उक्त रिट खारेज गरेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुईंकेलले जानकारी दिए। गत शुक्रबारदेखि यो मुद्दा मुसलमान र ढकालको इजलासले हेर्दा हेर्दैमा राखेका थिए ।

कात्तिक ७ गते अधिवक्ता ज्ञानबहादुर बस्नेतले हालेको यो रिट पटक-पटक स्थगित हुँदै आएको थियो । यो रिट दुई पटक हेर्न नमिल्ने, ७ पटक हेर्न नभ्याइने र एक पटक विपक्षीको कानुन व्यवसायीबाट स्थगित भएको थियो ।

यसअघि कात्तिक १२ गते न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाऊ आदेश, जग्गाको हक हस्तान्तरण लगायतका काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अन्तरिम आदेशका लागि दुवै पक्षलाई छलफलका लागि पनि बोलाएको थियो ।

भ्रष्टाचार र सरकारी कागजात कीर्ते गरेको आरोप लागेका व्यापारी गुरूङबाट एमालेले चन्दास्वरूप दान लिने गरी गरेको निर्णय बदर गर्न माग गर्दै अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दिएका थिए । सुरूमा सर्वोच्च अदालत प्रशासनले दरपीठ गरिदिएको थियो । प्रशासनको निर्णयविरूद्ध बस्नेतले कात्तिक २ गते इजलासमा निवेदन दिएका थिए ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले सो दरपीठ बदर गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो । अधिवक्ता बस्नेतले रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाएका थिए । उनले भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट पार्टीले जग्गा दान लिने विषय कानुनको मर्म र नैतिकता विपरीत भएको रिट निवेदनमा जिकिर गरेका छन् ।

राजनीतिक दल र राजनीतिका नाममा लिने/दिने चन्दा दान पारदर्शी बनाउन परमादेश दिन समेत उनले माग गरेका थिए । गत असोज २५ गते प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका वडा नम्बर २, मैत्रीनगरमा पार्टी केन्द्रीय कार्यालय भवनको शिलान्यास गरेका थिए।

भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरूङ र सावित्री गुरूङले एमालेलाई दान गरेको १० रोपनी १४ आना जग्गामा पार्टी भवन बन्न लागेको हो ।