म्याद थपका लागि रविलाई अदालतमा उपस्थित गराउँदै प्रहरी

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध कास्की प्रहरीले आज (पुस २ गते) अन्तिमपटक हिरासत म्याद थप्दै छ । कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्तकुमार शर्माले हिरासत म्याद थप्न आज लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराउन लागिएको जानकारी दिए ।

यसअघि सातौँपटक मंसिर १७ गते थपिएको ५ दिनको म्याद गएरातिबाट सकिएकाले प्रहरीले लामिछानेविरुद्ध आज आठौँपटक म्याद थपको अनुमति लिन लागेको हो । सम्पत्ति शुद्धीकरण मुद्दामा प्रहरीले ९० दिनसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ।

पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा लामिछाने कात्तिक २ गते पक्राउ परे पनि उनका व्यावसायिक साझेदार गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी असोज ६ गते नै पक्राउ परेका थिए । त्यही दिनदेखि गणना हुने कानुनी व्यवस्थाअनुसार आउने शनिबार ९० दिन पूरा हुँदै छ।

यस हिसाबले अब रविलाई हिरासतमा राख्न बाँकी म्याद ४ दिन मात्र छ। सोही कारण आज थपिने म्याद अन्तिम हुनेछ। रविविरुद्ध सहकारी ठगी, स‌ंगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गराउन राय दिँदै प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको छ ।

उक्त प्रकरणमा प्रहरीले रवि लामिछानेसहित ५१ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन सोमबार बुझाएको हो।