ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पुस २५ गतेबाट एकिकृत कारोबार सुरु गर्ने भएका छन् । गत असार २ गते यि दुई बैंकले मर्जर सम्झौता गरेका थिए । नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएसँगै कारोबार मिति तय भएको हो । यसअघि बैंकहरूले मर्जर सम्झौता गर्दा ग्लोबल आइएमई बिओके नाम राखेका थिए । तर, अब एकीकृत कारोबार ग्लोबल आइएमई बैंककै नामबाट हुने भएको छ ।
राष्ट्र बैंकले नाममा बैंक शब्द हटाउन नमिल्ने बताएपछि ग्लोबल आइएमई बैंककै नामबाट एकिकृत कारोबार हुने भएको हो । प्रस्ताव गरिएको बैंकको नाममा बैंक शब्द नभएको भन्दै राष्ट्र बैंकले नयाँ नाम ल्याउन भनेको थियो ।
गत असार २ गते दुई बैंकबीच मर्जर प्रयोजनको प्रारम्भिक सहमति भएको थियो । कात्तिक २८ गते सेयर स्वाप अनुपात १ः१ कायम गर्ने गरी अन्तिम सहमतिमा हस्ताक्षर भएको थियो । गत मंसिर २३ गते भएको दुवै बैंकका साधारणसभाले मर्जरलाई अनुमोदन गरिसकेको छ ।
मर्जरपछि बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ कायम भएको छ । बैंकको चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ, कुल निक्षेप चार खर्ब, कुल कर्जा तीन खर्ब ७९ अर्बभन्दा बढी पुगेको छ । मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक भएको छ ।
बैंकको अध्यक्षमा चन्द्र ढकाल हुने छन् भने सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने बताईएको छ । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन्।