विदेशमा पढ्न जानेको कथा पर्दामा

चलचित्रको प्रचारप्रसारका लागि ‘परदेशी २’ को टोली बिहीबार पोखरा आइपुगेको छ । विदेशमा पढ्न जाने नेपाली विद्यार्थीको कथावस्तुमा यो फिल्म बनेको छ ।

चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा लोकगायक तथा फिल्मका निर्माता, निर्देशक नारायण रायमाझीले यो फिल्म सामाजिक कथामा बनेको उल्लेख गरे । परदेशी र परदेशी २ को कथा भन्ने शैली एकै भएता पनि कथावस्तु विल्कुलै फरक भएको उनको जिकिर छ ।

“विदेशिनु नेपालीका लागि बाध्यता बनेको छ । उच्च शिक्षाका लागि परदेशिने नेपालीको विदेश भोगाइमा दुरुस्तै उतारिएको छ,’’ उनले भने ।

लोकप्रिय गायक तथा फिल्मका नायक प्रकाश सपुतले चलचित्रको कथा भन्ने शैली र कथावस्तुका कारण आफू यसमा जोडिएको जनाए । पोखरासँग आफ्नो भावनात्मक सम्बन्ध भएकाले पोखराबाट माया पाउने उनको अपेक्षा छ ।

अभिनेत्री केकी अधिकारीले फिल्मको सबैभन्दा बलियो पक्ष गीत र कथा रहेको टिप्पणी गरिन् । सपुतको प्रशंसा गर्दै अधिकारीले भनिन्, “उहाँको अभिनय कौशलतालाई हेर्दा नयाँ जस्तै लागेन । पहिलेदेखि नै फिल्म क्षेत्रमा लागेजस्तो देखियो ।”

फिल्ममा वर्षा शिवाकोटी, नीर शाह, रमा थपलिया, प्रशान्त तामाङ, दिलीप रायमाझी, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । राजेश बंशल (अग्रवाल) र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा मानकृष्ण महर्जनको छायाँकन, बीबी अनुरागी र नारायण रायमाझीको संगीत, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी छ ।

अष्ट महर्जनको द्वन्द्व, श्यामश्वेत रसाइलीको साउन्ड डिजाइन र मिक्सिङ, दीर्घ खड्काको सम्पादन रहेको फिल्म युनिटले बिहीबार केही कलेजमा पुगेर प्रचारसमेत गरेको छ ।

सम्बन्धित समाचार